नाडा अटो शो ७६ हजार बढीले गरे अवलोकन,एक हजारभन्दा बढी गाडी बुकिङ


काठमाण्डौं । यस वर्षको नाडा अटो शो २०२३ सम्पन्न भएको छ। उक्त प्रदर्शनीमा कुल ७६ हजार एक सय जना मानिसले अवलोकन गरेको नाडा अध्यक्ष ध्रुव थापाले बताए। ‘हामीले लक्ष्य लिएको भन्दा पनि धेरै आगन्तुकहरू अटो शोमा आउनुभयो । अटो क्षेत्रमा रुचि भएका आगन्तुकहरू धेरै पायौं,’ आइतबार आयोजित समापन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भने। प्रदर्शनी आयोजना अघि ७५ हजार मानिसले अवलोकन गर्ने अनुमान नाडाको थियो। अध्यक्ष थापाले नाडा अटो शो २०२३ ‘ग्र्यान्ड सक्सेस’ भएको समेत बताएका छन्। उनले देशको आर्थिक अवस्था कमजोर रहेको समय नाडा अटो शो गर्ने नगर्ने विषयका सुरुआतमा आफूहरू नै अन्यौल रहेको बताउँदै चुनौतिको सामना गर्दै आयोजना गरेको प्रदर्शनी ऐतिहासिक रूपमा सफल भएको बताएका छन्।

आर्थिक मन्दीका बीच आयोजित नाडा अटो शोले देशभरी सकारात्मक सन्देश प्रवाह गरेकोमा समेत उनले विश्वास व्यक्त गरेका छन्। तीन वर्षपछि आयोजित नाडा अटो शो २०२३ को शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल थियो। यसको सह प्रायोजक शिखर इन्स्योरेन्स कम्पनी थियो। प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरू थिए। प्रदर्शनीमा १६ वटा ब्राण्डका चारपांग्रे, २२ वटा ब्राण्डका दुईपांग्रे, सातवटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको थियो। नाडा अटो शो २०२३ मार्फत विभिन्न कम्पनीहरू जस्तै टाटा मोटर्स, एमजी, निशान, नेटा लगायत कम्पनीहरूले नयाँ मोडलका गाडी सार्वजनिक गरेको छ। विभिन्न कम्पनी गरी एक हजारभन्दा बढी गाडी बुकिङ समेत भइसकेको नाडाले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *