विमानस्थल आसपास ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने भएको छ । विमानस्थलले एक सूचना जारी गर्दै यस्तो कार्य नगर्न समेत आग्रह गरेको छ । अटेरी गरे कानुनअनुसार कारबाही हुने विमानस्थलले जनाएको छ । केही दिन पहिले एयर इन्डियाको जहाज काठमाडौं–दिल्ली उडानको लागि टेकअफ गर्दा ड्रोन देखिएको थियो । त्यो भन्दा पहिला विमान ल्यान्ड गर्दा पनि कोटेश्वरबाट लेजर लाइटको बिम हानेको थियो । यस्ता घटना बारम्बार आउन थालेपछि विमानस्थलले यस्तो गतिविधिमा कडाइ गरेको हो । विमानस्थलको करिब पाँच किलोमिटर भित्र र ग्राउन्डबाट हजार फिट ड्रोन, चङ्गा अथवा बेलुन उडाउँदा उडान सुरक्षामा चुनौती हुने भन्दै विमानस्थलले कडाइ गरेको छ । यस्ता गतिविधिले पाइलटलाई अलमल्ल बनाउने र जहाजसँग ठोकिएर दुर्घटना हुने सम्भावना भएको भन्दै विमानस्थलले कडाइ गरेको हो । विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडान गरेमा ड्रोन कब्जा हुने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
‘ड्रोन उडानसम्बन्धी कार्यविधि २०७५’ अनुसार जुनसुकै उद्देश्यले प्रयोग गरिने ड्रोन नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता गरेर ‘उडान उपकरण दर्ता नम्बर’ लिनुपर्नेछ । २०० फिटसम्मको ड्रोन उडान अनुमतिका लागि कागजातसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा र अन्यको हकमा नेपाल सरकार, गृह मन्त्रालयमा निवेदन दिनु पर्नेछ । जिल्ला प्रशासन कार्यालयले ड्रोन उडान अनुमति जारी गर्दा उक्त जिल्लामा नागरिक उड्डयनसम्बन्धी कार्यालय रहेको भए सो कार्यालयसँग समन्वय गरी मात्र उडान अनुमति दिन्छ ।
