फिफा विश्वकप २०२६ प्रारम्भिक छनोट – दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दै
काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोट अन्तर्गत दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ । खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो चरणमा पुग्नका लागि नेपालले दोस्रो लेगमा लाओसलाई हराउनैपर्ने हुन्छ । दोस्रो लेगको खेलमा विजयी हुने टिम विश्वकप एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ, जहाँ कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई ४–४ टोली रहने गरी ९ समूहमा विभाजन गरिनेछ । त्यसैले यो खेल नेपाली फुटबलको भविष्यका लागि निकै महत्वपूर्ण रहेको छ ।
नेपाल र लाओसबीचको विजेता दोस्रो चरणमा युएई र बहराइन रहेको समूह ‘एच’मा पर्नेछ । यस्तै यमन र श्रीलंकाबीचको पहिलो चरणको विजेता पनि यही समूहमा रहनेछ । दोस्रो चरणमा पुग्नका लागि अट्याकिङ फुटबल खेल्ने र जसरी पनि जित निकाल्ने नेपालको रणनीति छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसले लाओस विरुद्ध आक्रामक फुटबल खेल्ने समेत बताएका छन् ।
‘यदि हामीले अगाडि बढ्ने हो भने, हामीले जित्नुपर्छ र यो गाह्रो हुनेछ तर हामी भिडन्तका लागि तयार छौं । हामी आक्रामक अट्याकिङ फुटबल खेल्नेछौं,’ एनेसले सोमबार प्रिम्याच कन्फ्रेन्समा भनेका छन्, ‘लाओसले काउन्टर अट्याकिङ गर्ने फुटबल खेल्छ, म तिनीहरूलाई सम्मान गर्छु, तर हामीले सकारात्मक दृष्टिकोण राख्नुपर्छ ।’
प्रशिक्षक एनेसले यो खेल आफ्नो र नेपालका लागि महत्वपूर्ण रहेको भन्दै राम्रो तयारी पनि गरेको बताए । ‘हामीले निकै राम्रो तयारी गरेका छौं । हामीले आफैंमा ध्यान केन्द्रित गर्न आवश्यक छ । यो खेल नेपाल र मेरो लागि पनि निकै महत्वपूर्ण छ,’ उनले भने ।
पहिलो खेलमा लाओसले धेरै समय खेर फालेको र रेफ्रीको निर्णय पनि आफ्नो पक्षमा नआएको भन्दै यस विषयमा म्याच कमिशनरमा पनि कुरा उठाएको एनेसले बताए । उनले पहिलो खेलमा बराबरी खेले पनि नतिजाबाट निराश रहेको र दोस्रो खेल जित्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए । यस्तै त्यसका लागि मिडफिल्डमा सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
पहिलो खेलमा लाओसले सुरुवाती अग्रता लिएको थियो र अन्जन विष्टको कीर्तिमानी गोलमा नेपालले पुनरागमन गर्दै बराबरी गरेको थियो ।
यस्तै नेपाली टिमका कप्तान किरण कुमार लिम्बुले पहिलो खेल निराशाजनक रहेको भन्दै दोस्रो खेलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । ‘यो निकै महत्वपूर्ण खेल, हामी सुन्दर फुटबल खेल्न चाहन्छौं । पछिल्लो खेल निकै निराशाजनक रह्यो । हामीले राम्रो तयारी गरेका छौं र अगाडि बढ्नको लागि जित हासिल गर्ने लक्ष्य राखेका छौं ।’ किरणले पहिलो खेलमा गरेको गल्तीलाई नदोहोर्याउने गरी काम गरेको र दोस्रो खेलका लागि टिम सकारात्मक रहेको समेत बताए ।