कोशी प्रदेश – मुख्यमन्त्री कार्कीलाई अभूतपूर्व समर्थन, पाए ८६ मत

काठमाडौं । एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरी कोशीको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले प्रदेश सभामा अभूतपूर्व समर्थन पाएका छन् ।

मुख्यमन्त्री कार्कीले बुधबारको प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव राख्दै मध्यावधिबाट कोशीलाई बचाउनुपर्ने बताउँदै विश्वासको मत दिन आग्रह गरेका थिए । ‘प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भएको छ । प्रदेश सभा विघटन र मध्यावधि निर्वाचनमा जानुहुने छैन भन्ने विश्वास प्रकट गर्दछु,’ उनले भने ।९३ सदस्यीय रहेको कोशी प्रदेश सभाका ६ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य दलले कार्कीलाई विश्वासको मत दिएका छन् । प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको मत चाहिन्छ । कार्कीले भने ८६ मत पाएका छन् । उनले दुई तिहाइभन्दा बढी मत पाएका हुन् ।

कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एकजना सांसदले विश्वासको मत दिएका छन् । केन्द्रीय सत्तागठबन्धनको निर्णयको अवज्ञा गर्दै मुख्यमन्त्रीमा दाबी गरेका कार्की संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

विश्वासको मत पाएपछि कार्कीलाई सरकारलाई पूर्णता दिन भने सकस पर्ने देखिएको छ । एमाले पनि सरकारमा सामेल भएकाले माओवादी र एकीकृत समाजवादी सरकारमा जाने नजाने टुंगो छैन । बुधबारको बैठकमा एमाले र कांग्रेस सांसद सत्ता पक्ष र बाँकी चार दल विपक्षी कुर्सीमा बसेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *