सन् २०३४ को विश्वकप फुटबल साउदीले आयोजना गर्ने

काठमाडौँ । साउदी अरेबियाले सन् २०३४ को विश्वकप आयोजना गर्ने निश्चित जस्तै भएको छ ।

प्रतियोगिता आयोजनाको अर्को दाबेदार रहेको अस्ट्रेलियाले मंगलबार आफ्नो नाम फिर्ता लिएपछि यो स्थिति तयार भएको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा मा दाबेदारी प्रस्तुत गर्ने औपचारिक समय सकिन ठीकअगाडि फुटबल अस्ट्रेलियाले आफू पछि हट्ने निर्णय गरेको हो ।

यस्तोमा अब साउदी अरेबियामात्र एक्लो दाबेदार भएको छ । अस्ट्रेलियाले भनेको छ, ‘सन् २०३४ को विश्वकप आयोजना दाबी नगर्ने अहिले निर्णय गरेका छौं ।’ अस्ट्रेलियाले सन् २०२६ को एएफसी वुमेन्स कप र सन् २०२६ को क्लब वर्ल्डकप आयोजनामा आफू केन्द्रित हुन चाहेको बताएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले पनि साउदी अरेबियाली दाबेदारीको पूर्णतः समर्थन गर्नेछ र विश्वकप आयोजनाका लागि साउदी बलियो एकमात्र विकल्प बनेको छ । अस्ट्रेलियाले यसै वर्षमात्र न्युजिल्यान्डसँग मिलेर महिलाको विश्वकप आयोजना गरेको थियो । फिफा प्रत्येक विश्वकप फरक महादेशमा होस् भन्ने चाहन्छ ।

२०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दै छन् । २०३० को विश्वकप भने तीन महादेशको ६ राष्ट्रमा आयोजना हुनेछ । स्पेन, पोर्चुगल र मोरक्को संयुक्त आयोजक हुन् भने प्रतियोगिताको पहिलो तीन खेल अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा आयोजना हुँदै छ । १ सय वर्ष अगाडि उरुग्वेको मोन्टेभिडियोबाट विश्वकपको सुरुआत भएकाले २०३० को संस्करणको केही खेल दक्षिण अमेरिका क्षेत्रको तीन देशमा आयोजना हुन लागेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *