विराटनगरमा ‘भीषण’ आगलागी
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–७ स्थित सरस्वती प्लास्टिक उद्योग पछाडिको क्षेत्रमा मंगलबार (मंसिर ९) बिहान ‘भीषण’ आगलागी भएको छ । जलजला मोडनजिक आगलागी भएको हो । उद्योगनजिक थुपारिएको प्लास्टिकका फोहोरको डंगुरमा अचानक आगो सल्किएको प्रहरीको अनुमान छ ।
प्लास्टिकको फोहोर जलाउने क्रममा आगो अनियन्त्रित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । निजी आवासतर्फ आगो फैलन नदिन विराटनगर महागनरपालिकाको दमकल र सुरक्षाकर्मीले प्रयास गरिहेका छन् । आगो नियन्त्रणका निम्ति विराटनगर महानगरपालिकाको दमकल, सुरक्षाकर्मीको टोली खटिएका छन् । आगलागीबाट भएको क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
















