क्रिकेटर सन्दीपविरुद्ध मुद्दामा बहस नोट पेश गर्न दुबै पक्षका वकिललाई आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दामा बहस नोट पेश गर्ने आदेश दिएको छ ।
आज न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले मुद्दामाथि सुनुवाइ गर्दै बहस नोट पेश गर्ने आदेश दिएको हो । लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ । यस अगाडि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दामा पीडित भनिएको युवतीको बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश दिएको थियो । लामिछानेको मुद्दामा पटक पटक पेसी तोकिँदै आएपनि फैसला नभई सर्दै आएको छ ।
यसअघि मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो। बाहिरबाट मुद्दा लड्न पाउने माग गर्दै लामिछाने जिल्ला अदालतको सो फैसलाविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
पछि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटीमा रिहा भएपछि लामिछाने फेरि सर्वोच्च अदालत गएका थिए। धरौटी रकम धेरै लिएको र विदेश जान रोकेकाले त्यसको विरुद्धमा सर्वोच्च पुगेका थिए ।
पछि सर्वोच्च अदालतले लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको थियो । त्यसपछि उनलाई अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि विदेश जान सहज भएको थियो ।
















