विश्वकप क्रिकेट – अष्ट्रेलिया र भारत फाइनलमा भिड्ने

काठमाडौं । दक्षिण अफ्रिकामाथि ३ विकेटको जित हात पार्दै अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुग्न सफल भएको छ । साथै आइतबार उपाधिका लागि भारतसँग खेल्ने पक्का भएको छ ।

बिहीबार भारतको इडेन गार्डेनमा भएको दोस्रो सेमिफाइनल जित्नका लागि दक्षिण अफ्रिकाले २१३ रनको लक्ष्य दिएको थियो,उक्त लक्ष्यलाई अष्ट्रेलियाले १६ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि ट्राविस हेडले सर्वाधिक ६२ रन बनाए भने स्टीभ स्मिथले ३० र डेभिड वार्नरले २९ रनको योगदान दिए ।

यता अष्ट्रेलियाका लागि महत्वपूर्ण पारी खेल्नुका साथै एकै ओभरमा महत्वपूर्ण दुई विकेट लिएका हेड प्लेयर अफ दि म्याच बने । अष्ट्रेलियाको पारी हेड र वार्नरले राम्रो सुरुवात गरेका थिए । दुवैले पहिलो ६ ओभरमा ६० रन बनाएका थिए । तर ७७ रन जोड्दा सम्म ५ विकेट गुमाउन पुगेको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाको सुरुवात खराब थियो । पहिलो ओभरमै मिचेल स्टार्कले कप्तान तेम्बा बवुमालाई शून्यमा आउट गरे । चार ओभरपछि यो विश्वकपमा सबभन्दा चलेका दक्षिण अफ्रिकी ब्याट्सम्यान किन्टन डिककलाई जोस ह्याजलउडले कप्तान कमिन्सको हातबाट क्याच आउट गराएन । उनले मात्र ३ रन बनाए ।

अष्ट्रेलियाका मिचेल स्टार्क र कप्तान कमिन्सले ३/३ विकेट लिए भने ह्याजलउड र हेडले २/२ विकेट हात पारे । अब उपाधिका लागि अष्ट्रेलियाले भारतसँग खेल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *