शनिबार एमालेको विशेष बैठक आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले विशेष बैठक आह्वान गरेको छ ।
बैठक शनिबार १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी बोलाएको हो । बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुनेछ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले आगामी मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ। मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहीनताले सीमा नाघेको भन्दै युवासंघले प्रदर्शन गर्न लागेको युवा संघका प्रवक्ता निरोज पौड्यालले जानकारी दिए ।
उनले माफियागिरी, सामाजिक सदभाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको जनाए।