राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा सातै प्रदेशका सभामुख तथा उपसभामुख अष्ट्रेलिया जाँदै
काठमाडौं । आर्थिक मन्दीका कारण वर्तमान सरकारले अत्यावश्यकबाहेकका विदेश भ्रमणमा जान रोक लगाएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं तारन्तार विदेश भ्रमणमा गइरहे । लगत्तै संयुक्त अरब इमिरेट्स जाँदैछन् ।
उनका मन्त्रीहरू पनि एकपछि अर्का मन्त्रीहरू विदेश जाने गरेका छन् । सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष प्रायः विदेश गइरहेका छन् । आर्थिक मितव्ययिताका लागि आफैंले गरेको निर्णय सरकारका लागि भारी परेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया जान लागेका छन् । तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल सोमबार राति मलेसियाको राजधानी क्वालालम्पुर हुँदै त्यता जाने कार्यक्रम छ ।
तिमिल्सिनासँगै सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी,कर्णालीका सभामुख नन्दा गुरुङ,गण्डकीका सभामुख कृष्णप्रसाद धिताल,कोशीका उपसभामुख सृजना दनुवार, मधेशका उपसभामुख बबिताकुमारी राउत ईशर,बागमतीका उपसभामुख अप्सरा चापागाईं खत्री र लुम्बिनीका उपसभामुख मेनुका खाँड के।सी अष्ट्रेलिया जाने टिममा छन् । टोलीमा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी,राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना,संघीय संसद सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा पनि रहेको बताइएको छ ।
संसद् सचिवालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोग परियोजनाअन्तर्गत अध्ययन भ्रमण हुन लागेको जानकारी दिएको छ । प्रतिनिधिमण्डलले त्यहाँको संसद, न्यु साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदमा पुगेर भेटघाट गर्ने बताइएको छ ।