सरकारमा जान एमालेलाई कसैले रोक्न सक्दैन : ओली
दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दावी गरेका छन् ।
सोमबार दैलेखको सदरमुकाममा आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै सरकारमा जान कसैले रोक्न नसक्ने दावी गरेका हुन् । एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइएको समेत उनले आरोप लगाए । एमाले जनताको लागि काम गर्ने पार्टी भएको भन्दै उनले देशमा एमालेलेमात्र विकास सक्ने दावी गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आगामी दिनमा विकासको लहर कसरी सिर्जना गर्ने भनेर अध्ययन र चिन्तन गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको दावी गरे ।
एमालेको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान सही छ भन्ने कुरामा यात्राको क्रममा नागरिकको सहभागिताले पुष्टि गरेको उनको भनाइ छ ।