२६०० जनालाई मुद्दा हालेर बने करोडपति
एकजना व्यक्तिले पैसा कमाउनका लागि कसैसँग निहुँ खोज्नुको हद नै पार गरिदिएका छन् । उनले कानुनलाई नै पैसा कमाउने हतियार बनाएर करोडपति बनेका छन् । मानिसले विभिन्न काम गरेर पैसा कमाउँछन् । तर ती व्यक्तिको काम नै जोकोहीविरुद्ध मुद्दा हाल्ने हो । ती व्यक्तिले हालसम्म २६०० भन्दा धेरै मानिसविरुद्ध मुद्दा हालेका मात्र छैनन् अधिकांश मुद्दा जितेका छन् र क्षतिपूर्तिबापत करोडौं रुपैयाँ प्राप्त गरेका छन् । अमेरिकी नागरिक जोनाथन ली दुनियाँमा सबैभन्दा धेरै मुद्दा हाल्ने व्यक्ति हुन् । धेरै मानिसहरुलाई यस्ता कीर्तिमानका कारण गिनिज बुकमा नाम लेखाउने धोको हुन्छ । तर, उनले त आफ्नो यस्तो कीर्तिमानको कुरा छाप्ने गिनिज बुकविरुद्ध समेत मुद्दा हाले । जोनाथले सबैभन्दा पहिले आफ्नी आमाविरुद्ध मुद्दा हालेर आफ्नो मुद्दा मामिलायुक्त जीवनको सुरुवात गरेका थिए । आमाले आफूलाई राम्रोसँग हेरचाह र पालनपोषण नगरेको भन्दै क्षतिपूर्ति माग गरेका थिए । उक्त मुद्दामा अदालतले उनलाई आमाबाट २० हजार डलर क्षतिपूर्ति भराउन आदेश दिएको थियो । त्यसपछि उनले आफ्ना साथी, छिमेकी, नातागोता, पुलिस, न्यायाधीश, आफ्नै प्रेमिका, कलाकार तथा चर्चित कम्पनी मात्र होइन अमेरिकी पूर्वराष्ट्रपति जर्ज बुसमाथि समेत मुद्दा हाले । उनले अदालतमा हाल्ने मुद्दामा आफूले पाएको दुस्ख तथा मानहानीको लागि उचित क्षतिपूर्ति भराउन माग गर्दथे । उनले अदालतमा कानुन बमोजिम मुद्दा जितेर मोटो रकम कमाउन सफल भए ।
तर विकिपिडियाले भने उनलाई संसारकै सबैभन्दा ठूलो ठग भनेर लेखेको थियो । उता गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई संसारमा सबैभन्दा धेरै मुद्दा हाल्ने व्यक्ति भनेर गिनिज बुकमा दर्ज गरेको थियो । तर, उनलाई त्यो पनि पचेन । आफ्नो अनुमति विना निजी कुरा प्रकाशित गरेको भन्दै उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रकाशकविरुद्ध पनि मुद्दा हाले । जसबापत गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई लाखौं डलर डलर क्षतिपूर्ति तिर्नुपरेको थियो । एकपटक उनी एउटा टेलिभिजन कार्यक्रममा अतिथि बनेर अन्तरवार्ता दिन पुगेका थिए । कार्यक्रम प्रस्तोताले उनलाई सोधे, ‘तपाईं यतिधेरै चर्चित हुनुहुन्छ तर एक्लै बस्नुभएको छ, के तपाईंलाई मन पराउने कोही छैन ? त्यसको जवाफ नदिइ जोनाथन हाँस्न थाले र टिभी शो छाडेर हिंडे । त्यसको लगत्तै उनले उक्त टेलिभिजन च्यानलविरुद्ध आफ्नो मानहानी गरेको भन्दै मुद्दा हाले । अदालतले जोनाथनको मानहानी भएको ठहर गर्दै उनलाई ५० हजार डलर क्षतिपूर्ति दिन टेलिभिजनलाई आदेश दियो । अनौठो त के भने जब अदालतमा कुनै पनि मुद्दामा उनको विपक्षमा फैसला हुन्थ्यो, तब उनले उक्त फैसला गर्ने न्यायाधीशविरुद्ध नै मुद्दा हाल्थे । सन् २००० को दशकमा जोनाथनले यतिधेरै मुद्दा मामिलाबाट मनग्गे रकम कमाएका थिए र उनी अमेरिकामा मुद्दाको पर्यावाची नै बनेका थिए ।