ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु
काठमाण्डौं । थानकोटमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरूद्ध पारेका छन्। शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका ३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३ ०१ ००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी २ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको शुक्रबार अपराह्न साढे ४ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनको मृत्यु भएपछि शनिबार बिहान स्थानीयहरूले नागढुंगा सडक अवरूद्ध पारेका हुन्। खरिबोट, थानकोट र नागढुंगा चेकपोइन्टमा दर्जनौंको संख्यामा उपस्थित भएका स्थानीयहरूले बिहान केहीबेर सडक ठप्प पारेका हुन्। सडक ठप्प भएपछि प्रहरीले स्थानीयसँग छलफल गरी सडक अवरोध खुलाएको छ। बिहान १० बजेदेखि करिब १ घन्टा अवरूद्ध भएपनि अहिले दुइतर्फी नै सडक सञ्चालनमा आएको प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर सरिता मगरले जानकारी दिइन्। ट्रक र चालक दुवै प्रहरी वृत्त थानकोटमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए।