पशुपतिनाथ परिसरमा कर्बिस्तान बनाउनुपर्ने अभियानमा सक्रिय लक्ष्मी पुनलाई तालाचाबी
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त भएकी लक्ष्मी पुन केही समयअघि पशुपतिनाथ परिसरमा चिहान (कर्बिस्तान) बनाउन पाउनुपर्ने अभियानमा सक्रिय रहेको बताइएको छ ।
कर्बिस्तान भनेको क्रिस्चियन धर्मावलम्बी मृत्यु भएको लगेर गाड्ने चिहान हो । माओवादीले संस्कृति मन्त्रालय पाएदेखि पशुपतिमा क्रिस्चियन मेसिनरीले प्रवेश पाउन थालेका हुन् ।
विकास कोषको कार्यकारी निर्देशकमा नियुक्तिका लागि हिन्दु धर्म र संस्कृतिको विज्ञता हासिल गरेको हुनुपर्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पत्रकारिता पेसामा लागेकी पुनलाई नियुक्ति दिलाएका हुन् ।
नेपाल पत्रकार महासंघको पूर्वसचिवसमेत रहेकी पुन गैरहिन्दु हुन् । कार्यकारी निर्देशक बन्ने उनको योग्यतासमेत नभएको कोषका कर्मचारीहरू बताउँछन् । क्रिश्चियन धर्मावलम्बी पुनलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्ति गरिएपछि सरकारको ब्यापक आलोचना भएको छ ।
बुधबार बसेको कोषको सञ्चालक परिषद्को बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस १ गते सकिएको थियो । खतिवडाले संस्कृत नाटकमा विद्यावारिधि हासिल गरेका थिए ।
उनलाई केपी ओली सरकारको पालामा नियुक्ति दिइएको थियो । पुन जनार्दन शर्मा गृहमन्त्री भएका बेला प्रेस संयोजक थिइन् । अहिले शर्माकै सल्लाहमा पुनलाई नियुक्ति दिइएको बुझिएको छ । पुनले ट्राभल एजेन्सीबाट योग्यताको प्रमाणपत्र बनाएर नियुक्ति लिएकाले विवादमा परेकी छन् ।