हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलग–अलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ ः अर्थमन्त्री डा. महत
काठमाडौं । शनिबार काठमाडौंमा पार्टीको बागमती प्रदेशको पहिलो सम्मेलनमा अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औँल्याएका छन् । उनले कांग्रेसभित्र वडादेखि केन्द्रसम्म छलफल र बहस गर्नुपर्ने बताए । त्यसको निष्कर्ष जनताका बीचमा प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए । बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने कांग्रेस नेता–कार्यकर्ताको समस्या भएको उनले सुनाए । आन्तरिक निर्वाचनमा आमनिर्वाचनभन्दा चर्को रूपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपरे बैठकमै नआउने पार्टीका नेताको समस्या भएको उनले स्पष्ट पारे । केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ ।
यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जान जरुरी छ, उनले भने, हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलग–अलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ । पार्टीभित्र एकार्कालाई सहने, सम्मान गर्न सक्नुपर्नेमा उनले जोड दिए । संसद्मा हाम्रो तीन गुणा बढी संख्या छ, यद्यपि यो परिस्थितिमा गठबन्धन सरकार बनेको हो । हामीले लोभ गर्दा सत्ता गुमेको हो भनेर आलोचना भएकै हो । यो कुरालाई भुलेर हामी अर्को बहसमा लाग्यो भने हामी काहीँ पुग्दैनौँ । संगठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकार्कालाई सहने, सम्मान गर्ने, एकार्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ । यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन । आफूले जनतालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको उनको भनाइ छ । पार्टीभित्र संघर्ष गर्दै, नेविसंघको राजनीतिमार्फत म यहाँ आइपुगेको हुँ ।
मेरो जरा कहाँ छ, कसको कारणले म यहाँ छु भन्ने कुरा मैले भुलेको छैन, उनले भने, इमानदार, पारदर्शी र समर्पित भएर देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको छु र गर्छु । उनले स्वार्थ समूहका निम्ति काम नगर्ने बताए । कतिपय स्वार्थ समूह आफूविरुद्ध लागिपरेको उनले उल्लेख गरे । स्वार्थ समूहका लागि म काम गर्दिनँ, देश र जनताका लागि काम गर्छु । इमानदार, पारदर्शी र समर्पित भएर काम गर्दा कतिपय स्वार्थ समूह मेराविरुद्ध खनिएका छन् । जहाँ पुग्न पनि सहज छ अचेल, यसले खत्तम गर्यो भनेर दौडादौड गर्नेको यहाँ कमी छैन ।