गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौँ । राष्ट्रियसभाको सीट भागबन्डाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । बुधबार अपराह्न ३ बजेदेखि बैठक जारी रहेको एक नेताले जानकारी दिएका छन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाका नेताहरु सहभागी छन् । राष्ट्रिय सभा चुनावमा सिट बाँडफाँट, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनेजस्ता विषयमा दलहरू छलफलमा जुटेका हुन् ।
हिजो र आज बसेको कांग्रेस र माओवादीबीचको बैठकमा गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर सीटको भागबण्डा टुंग्याउने सहमति बनेको छ ।
साना दलहरूले पनि आकांक्षा राखेपछि गठबन्धनमा सीट भागबण्डा पेचिलो बन्दै गइरहेको छ । यता, कांग्रेस र माओवादीबीच राष्ट्रिय सभामा एमालेलाई पनि समेट्ने सहमति बनेको छ । यो बैठकलगत्तै गठबन्धन र एमालेको बैठक बस्ने तय भएको छ ।
१९ सिटका लागि माघ ११ मा राष्ट्रिय सभा चुनाव हुँदैछ। त्यसका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।