यसरी बदलिँदै छ हायू जातिको जीवनशैली
सिन्धुली । कमलामाई नगरपालिका–१ कोप्चेका नैनबहादुर हायूको परिवारलाई विगतका समयमा पेटभरि खान पुग्दैन थियो । सो परिवारलाई भोक मेटाउन जङ्गलमा कन्दमूल खोजेर खानु पर्दथ्यो ।
“२० वर्षअघिसम्म हामी वनमा गिट्ठा, तरुल खोजेर खाँदैथियौँ । अहिले पहिले जसरी जङ्गलमा कन्दमूल पाइँदैन । जङ्गल विनाशसँगै मासिया”, उनले विगत सम्झिँदै भने ।
तत्कालीन सयममा हायु जातिको अवस्था अत्यन्तै नाजुक थियो । आयस्रोत थिएन । पढ्ने अवसर पाएका थिएनन् । सो जातिसँग बाँसजन्य सामग्री बनाउने सीप थियो । उनले भने, “गाउँबाट बजार पुग्न दिनै बित्ने गर्दथ्यो । बाटो राम्रो थिएन । सवारी साधनको पहुँच थिएन । दैनिकी कठिनाइका साथका बित्ने गर्दथ्यो । ”
पछिल्लो समय सो जातिको रहनसहन, बानीव्यवहार, खानपान र जीवनशैली बदलिँदो क्रममा छ । सरकारले मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि सामाजिक, शैक्षिक र आर्थिक अवस्थामा सुधार आएको कमलामाइ –१ आधामाराका हायू समुदायका अगुवा युवा गुणबहादुर हायूले बताए ।
उनले भने, “पहिला भोक टार्ने जङ्गली गिट्ठा, तरुललाई हायूले यतिबेला बिर्सिन थालेसकेका छन् । पेटभरि खान पाएका छन् । बालबालिका विद्यालयमा पढ्न पाएका छन् । सडक सुविधा थपिँदै गएको छ । बिजुली बत्ती घरघरमा पुगेको छ । समग्रमा हायू जातिको जीवनशैली व्यवस्थित बन्दै गएको छ ।”
सरकारले अहिले लोपोन्मुख हायूलाई मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । पाँच सय रुपैयाँबाट सुरु भएको भत्ता पछिल्लो समय बढ्दै गएपछि प्रकृतिलाई पूजा गर्ने हायूको जीवनशैली व्यवस्थित बन्दै गएको उनको भनाइ छ ।
ज्येष्ठ नागरिक नागरिक पूर्णिमाया हायूले सरकारले दिएको सुविधाका कारण आफूहरुको जीवनस्तर राम्रो बन्दै गएको बताए । “मैले कखरा पढ्न पाइन । त्यो बेला केन्द्रमा मात्रै छ स्कुल भन्ने सुनेको थिएँ । हामीले पढ्ने उमेरमा स्कुल देख्न पनि पाएनौँ,” उनले भने, “हाम्रो बालबच्चाले पढ्ने बेला घरआँगनमै स्कुल स्थापना भयो । अहिले सबै हायू बालबालिकाले पढ्न पाएका छन् ।”
सिन्धुलीको मदन भण्डारी राजमार्गको पश्चिम खण्डस्थित खारखोलाबाट उकालो एक घण्टा कच्ची सडक सवार गरेपछि जङ्गलभित्र छरिएर रहेको बस्ती भेटिन्छ । कमलामाई–१ को डाँडी गुराँसे कोप्चे क्षेत्रमा एक सय २० घर सो जाति रहेको छ ।
सो क्षेत्र दुर्गम रहेको छ । त्यहाँ अझै पनि आधुनिक विकासको पूर्वाधार पुगेको छैन । कक्षा ८मा अध्ययनरत प्रमिसा हायूलाई विद्यालय पुग्न दुई घण्टा पैदल हिँड्नु पर्छ । पहिला घरबाट विद्यालयसम्म पुग्न सानो गोरेटो बाटो थियो । अहिले कच्ची नै भए पनि सडक विस्तार भएको छ । घर र सहर गर्न हिउँद महिनामा दैनिक एउटा गाडी चल्छ । आफ्नो गाउँ विकसित हुँदै गएको उनीका ठम्याइ छ ।
लालमाया हायूका अनुसार यस लोपोन्मुख जातिको पुख्र्यौली पेसा मान्द्रो, डोको, डालो, नाग्लो, चाल्नो, भकारी बेच्ने हो । यसलाई व्यवसायी रुपमा प्रवद्र्धन गर्न नसके पनि घरायसी दैनिक कामबाट बचेको समयमा बाँसजन्य सामग्रीहरु बनाएर बेच्ने गर्दछन् । कतिपय हायूले पशुपालन र कृषि कर्म गरेर पनि आम्दानी गर्न थालेका छन् ।
हायू जातिको जीवन उकास्नका लागि सडक सञ्जालदेखि विद्युत् विस्तारसम्मको काम भइरहेको वडाध्यक्ष नरेश गोलेले बताए । सबैलाई शिक्षामा जोड्का लागि हायू गाउँमै माध्यमिक तहको विद्यालय सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ ।
कमलामाई नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले लोपोन्मुख हायूको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्नु सरकारको दायित्व भएकाले यसका लागि आफू कटिबद्ध रहेको बताए । हायूको पराम्परागत सीप र पहिचान प्रवर्धनमा योजना बनाएर काम गर्ने उनको भनाइ छ ।
कमलामाई नगरपालिकामा मात्रै एक हजार एक सय हायू जातिले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेका छन् । सो भत्ताले जीवनयापन सहज बन्नाका साथै जीवनशैलीमा परिर्वतन आएको उनीहरुको भनाइ छ । सरकार नै आफूहरुको भरोसा बनेको जनाउँदै सो जातीले खुशी व्यक्त गरेका छन् ।