वीर अस्पतालको खाद्यान्न र अक्सिजन खर्च कटौतीविरुद्धको रिट ढकालको इजलासमा
काठमाडौं । वीर अस्पतालको खाद्यान्न र अक्सिजन खर्च कटौतीविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आज सुनुवाइ हुँदैछ ।
वीर अस्पतालका लागि ३३ वर्षदेखि दिइँदै आएको विरामीको खाना र खाजाको खर्च कटौती संविधानको मौलिक हकविरुद्ध रहेको दाबी गर्दै अधिवक्ता विमल पोखरेलले यही पुस १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइका लागि न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको छ ।
अधिवक्ता पोखरेलले रिटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थमन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाएका छन् । रिटमा वीर अस्पतालका विरामीको खाना र खाजा सुविधासँगै अक्सिजन आपूर्ति पनि कुनै पनि बेला रोकिने र त्यसले भयावह अवस्था निम्त्याउने भन्दै अन्तरिम आदेशको माग गरिएको छ ।
साथै वीर अस्पतालका विरामीलाई दिइँदै आएको सुविधा कटौती नगर्न पनि परामादेश मागिएको छ ।