गुरुङसहित ४ संस्थापक हिमालयन बैंकबाट बाहिरिँदै
काठमाडौं । हिमालयन बैंकका चार जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका चार जना सेयरधनीहरूले कूल कित्ता ७८ हजार कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक सुव्वा प्रसाद लामिछानेको नाममा रहेको ५ हजार २९१ कित्ता, आशामान तण्डुकारको ११ हजार ६ सय ९३ कित्ता, कालु गुरुङको ५९ हजार २ सय ५९ कित्ता र तिर्थ राज नेपालको १ हजार ७ सय ९९ कित्ता गरी कूल ७८ हजार ४२ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
उनीहरुले यो सूचना जारी भएको ३५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय अवधिमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ । संस्थापक सेयरको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा सम्पर्क गर्नु पर्नेछ ।