राष्ट्रियसभा निर्वाचन : कांग्रेसको १० उम्मेदवार, शेखर समूहलाई ३ सिट
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले संस्थापन पक्षका सात र संस्थापन इतरका तीन सहित दश उम्मेदवार टुंगो लगाएको हो ।
कोसी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द प्रसाद ढुंगाना, वाग्मतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतलाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अुनसार गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारले टिकट पाएका छन् ।
त्यस्तै लुम्बिनीमा कांग्रेसले विष्णुदेवी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरा उम्मेदवार बन्ने भएका छन् । परियार, श्रेष्ठ र सापकोटा शेखर संस्थापन इतर शेखर कोइराला पक्षबाट उम्मेदवार बन्न लागेका हुन् । माघ ११ गते हुने राष्ट्रियसभामा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।