हसिना लगातार चौथो पटक बंगलादेशको प्रधानमन्त्री बन्दै
काठमाडौँ । बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
आइतबार भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले संसदको ३०० सिटमध्ये २०४ सिटमा जित हासिल गरेपछि हसिनाको प्रधानमन्त्री बन्ने निश्चित भएको हो । यसपटक २९९ सिटमा मतदान भएको थियो । योसँगै हसिनाले लगातार आठौं पटक चुनाव जितेकी छन् ।
हसिनाले आफ्नो निर्वाचन क्षेत्रमा बंगलादेशको सर्वोच्च पार्टीका उम्मेदवार एम निजामुद्दीन लस्करलाई २ लाख ४९ हजारभन्दा बढी मतान्तरले पराजित गरेकी छन् । हसिनाले २ लाख ४९ हजार ९ सय ६५ मत पाएका छन् भने निजामुद्दीनले ४६९ मत मात्र पाएका छन् । हसिनाले पहिलो पटक सन् १९८६ मा चुनाव जितेकी थिइन् ।
बंगलादेश निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा ४० प्रतिशत मत खसेको छ । यस अघि २०१८ को चुनावमा ८० प्रतिशत मतदान भएको थियो । यस निर्वाचनलाई बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लगायत देशका विपक्षी दलहरूले चुनाव बहिष्कार गरेका थिए ।
शेख हसिना बंगलादेशको पाँचौं पटक प्रधानमन्त्री बन्न लागेकी छन् । उनी सन् १९९६ देखि २००१ सम्म प्रधानमन्त्री थिइन् । त्यसपछि सन् २००९ मा उनी फेरि प्रधानमन्त्री बनिन् । त्यसबेलादेखि अहिलेसम्म लगातार सत्तामा छन् ।