धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने
काठमाडौं । धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ । आविष्कार केन्द्र स्थापनाका लागि धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पससँग धरान उपमहानगरपालिकाले सम्झौता गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका प्रमुख काजीराम कार्कीबीच स्थानीयस्तरमै आविष्कार केन्द्र खोल्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार पहिलो चरणमा धरान उपमहानगरपालिकाले क्याम्पस हाताभित्र आविष्कार केन्द्रका लागि भवन निर्माण गर्नेछ भने दोस्रो चरणमा आविष्कार र अन्वेषणका लागि आवश्यक औजार, मेसिन खरिद तथा अन्य भौतिक पूर्वाधारको विकास गर्नेछ ।
वैज्ञानिक महावीर पुनले व्यक्तिगत रूपमा कीर्तिपुरमा आविष्कार केन्द्र खोलेका छन् । त्यसकै अनुशरण गर्दै धरानमा आविष्कार केन्द्र स्थापना गर्न लागिएको हो । आविष्कार केन्द्रले इनोभेसनको काम र अन्य अनुसन्धान गर्ने लक्ष्य लिएको छ ।