शहीदको अपमान कहिलेसम्म !

प्रत्येक साल माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ । चार शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालालको शदाहतको सप्ताहलाई स्मरण गर्ने हेतु सरकारी तवरबाट आयोजना गरिने शहीद सप्ताह कर्मकाण्डी औपचारिकतामा नै सीमित रहदै आएको छ ।

एकतन्त्रीय हुकुमी शासन विरुद्ध विगुल फुक्ने युवाहरुलाई तर्साउन जुद्ध शमशेर राणाले विक्रम सम्वत १९९७ सालमा चारजना स्वतन्त्रता सेनानीलाई मुत्यु दण्ड दिएको थियो । त्यहि चेतनाको झिल्कोले सल्काएको डँढेलोले सम्वत् २००७ साल राणा शासनलाई डढाएर राख बनायो । र, प्रजातन्त्रको उदय भयो । प्रजातन्त्रको प्रादुर्भाव भए देखिनै सरकारी तवरबाट शहीद दिवस मनाउने परम्परा आज पर्यान्त आविछिन्न जारी छ । यस वीचमा राष्ट्र,प्रजातन्त्र,जनाधिकार,मुक्ति र स्वतन्त्रताका लागि अनगिन्ती सपूतले आफ्नो जीवन उत्सर्ग गरिसकेका छन् ।

राजनीतिक स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रताका लागि मात्र होइन गाँस,वास र कपासका लागि लड्दा लड्दै धेरैको ज्यान गएको छ , सरकारद्धारा मच्चाईएको सबभन्दा ठुलो हिसांको तान्डव झोरा काण्डमा भयो । पञ्चायत विरुद्धको संघर्षमा तीस बर्षको अवधिमा सैयौंले जीवन बलिदान गरे । संघर्ष, बलिदान र स्वतन्त्रता अभियानको लडाई आज पनि जारी छ । जनताले आज पनि पूर्ण स्वतन्त्रता र मुक्ति पाएका छैनन् । त्यस अर्थमा शहीदका सपना आजसम्म पनि सार्थक भएको मान्न सकिदैन । शहीदका आकांक्षा, चाहना र उद्देश्य के थिए , तिनलाई पुरा गर्न आज शासकवर्गले पर्याप्त ध्यान दिएका छन कि छैनन् , शहीदको रगतले कोरेको बाटोमा तिनका अनुयायी हिडेका छन कि छैनन् भन्ने सन्दर्भमा अनगिन्ती सवाल खडा भएका छन् । सचेत जनताले त शहीदलाई बारम्बार स्मरण गर्नु पर्ने हो । तिनका आदर्शलाई जीवन दर्शन वनाउनु पर्ने हो । तर व्यवहारमा त्यस्तो छनक कतै देखिदैन ।


साहित्यकार कलाकार र राजनीतिक दल सबैले शहीदलाई आफ्नो स्वार्थको थैलो भर्ने हतियार मात्र वनाए । यहाँसम्म कि हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपूत मरेर नगए भनेर शहीदको महिमा गान गाउने कवि भुपि शेरचनले पनि आफ्नो हातले मरेर शहीद हुने हो, वाँचेर त हेर बाँच्न झन गारो छ , भनेर लेखे उनले त बाँच्न नसकेर शहीद भएको अर्थमा शहीदको बदनाम समेत गरे । उद्दात्र भावले स्वतन्त्रताका लागि लड्ने र लड्दा लड्दै शहीद हुनेहरुको अहिले ठुलो अपमान हुन थालेको छ । शहीदको गरिमा र महिमालाई अहिले व्यक्तिगत र दलगत स्वार्थमा सीमित गर्ने काम भएको छ । अहिले पार्टीगत स्वार्थका लागि जसलाई पनि शहीद घोषणा गर्ने र शहीद भनेर निश्चित रकम शहीद परिवारलाई दिने परम्परा नै भएको छ । तस्कर,बलात्कारी , हत्यारा, दुर्घटनामा मारिने , जड्याहा आदिलाई पनि शहीदको सुचिमा समावेश गर्दा असली शहीदको अपमान भएको छ । र शहीदको गरिमा र महत्वको अवमुल्यान भएको छ ।
जताभावी शहीद घोषणा गर्दै अहिले शहीदको संङख्या १७ हजार ९४१ पुर्याएको छ । त्यसले गर्दा शहीदप्रति नतमस्तक हुने परम्परा समाप्त हुने खतरा बढेको छ । शहीदको परम्परा समाप्त हुने खतरा वढेको छ ।

शहीदको परिभाषा बदलेर आफ्नो स्वार्थसिद्धका लागि जसलाई पनि त्यो पगरी गुथाउँदा हुने क्षतिको आंकलन अहिले कतैबाट पनि भएको देखिदैनन् । शहीदको जीवनबाट प्रेरणा लिएर राष्ट्र,स्वधर्म र स्वतन्त्रताका लागि जीवन त्याग गर्नेलाई हतोत्साहित गर्ने यो प्रपञ्च रचेको हुनसक्छ । शहीदलाई राष्ट्रले जुन सम्मान प्रदान गर्नुपर्ने हो त्यो सम्मान दिन अब सम्भवै नहुने स्थिति आएको छ । झन्डै अठार हजारको संख्यामा रहेका शहीदलाई अब कतैपनि सम्मानका साथ स्थान दिन सम्भव छैन । आफ्नो पार्टीको स्वार्थका लागि प्रयोग गरिएकालाई शहीदको कोटिमा समावेश गर्नु राष्ट्रको लागि लज्जाको विषय हो । हुलदंगामा मारिएका , चोरी गुण्डागर्दीमा मारिने पनि यदि कुनै दलको यौवन्ती सदस्य रहेछ भने सजिलै शहीद घोषणा गर्ने परम्परा बसेको छ । यसरी शहीदलाई विकृत गराउने काममा माओवादी अग्रसर छ ।

माओवादीलाई लिएर आफ्नो सत्ता स्वार्थ पुरा गर्ने कांग्रेस र एमाले पनि त्यसका मतियार छन । अव यो कुप्रथा अन्त्य गरेर शहीदलाई सही अर्थमा सम्मान गर्ने, स्मरण गर्ने र अनुशरण गर्ने परम्पराको थालनी गर्नुपर्छ । र, मात्र राष्ट्र सही रुपमा स्वतन्त्रको मार्गमा अग्रसर हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *