सहिदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्नुपर्छ: अध्यक्ष नेपाल
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको राष्ट्रियता अखण्डता, सार्वभौमसत्ता र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनका साथै देशमा निरङ्कुशताको अन्त्य गरी लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि जीवनको बलिदान गरेका सहिदको त्याग, निष्ठा र आदर्शलाई पूरा गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष नेपालले मुलुकमा आर्थिक तथा सामाजिक रुपान्तरणका माध्यमबाट सबै जनतालाई सुखी र समृद्ध बनाउनुपर्नेमा जोड दिए ।
उनले लोकतान्त्रिक पद्धतिबाट जनताको स्वतन्त्रता, सामाजिक न्याय र समानता कायम गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धि कायम गर्न सकिने विश्वास व्यक्त गरे । नेपालले समाजमा विधमान वर्गीय शोषण, सबै प्रकारका विभेदको अन्त्य गरी जनताको आर्थिक रुपान्तरण गर्न संवैधानिक व्यवस्थाअनुसार सबै जनप्रतिनिधिमूलक संस्था तथा राज्यका सबै अङ्गले लोकतान्त्रिक मूल्य, मान्यता अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
लोकतन्त्रको विशेषताका रूपमा रहेको न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र स्थापना गर्न खाँचो औँल्याउँदै समाजवादको कार्यभार पूरा गर्न पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोण तथा आदर्शलाई स्थापित गर्न आवश्यक रहेको बताए ।