पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने छ : प्रधानमन्त्री प्रचण्ड

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।

‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न कार्यक्रम महत्त्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त रहेको बताए । विशिष्ट पाहुनाहरूबाट एक सय ५० वर्षदेखि चितवनका जङ्गलमा शिकार यात्रा गरेको इतिहास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरूवात टाइगर टपले मेघौली नजिक चितवनबाट भएको स्मरण गरे । उनले भने, “यी सबै आधारहरूले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्नेमा विश्वस्त हुन सकिन्छ ।”

पछिल्लो ७ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताए ।

प्रधानमन्त्रीले गौरवका आयोजनाहरू रिङ्गरोड, सिक्स लेन रोड, तटबन्धन, सिटि हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला, विमानस्थल, नारायणी ‘सी–बीच’ मोडल तथा विभिन्न पूर्वाधारहरूको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्ने बताए ।

चितवन देशकै मुख्य आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “जैविक विविधता प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण प्रवर्द्धन गर्दै पर्यटन विकासमा निरन्तर अग्रसर यस महानगरपालिकामा एकातर्फ पर्या–पर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि, धार्मिक पर्यटन आदिको क्रमिक विकास भएको छ ।”

अनुपम प्राकृतिक सम्पदाले सम्पन्न महानगरपालिकामा निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमश्रृङ्खलाको दृश्यावलोकन एवम् समथर तराईको भू–भागको दृश्यावलोकन लगायतका प्राकृतिक आकर्षणहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक स्थलहरू, गढी, दरबार, सङ्ग्राहलय, पार्क, धार्मिक स्थलहरू, मानवनिर्मित २२ वटा आकर्षण पर्यटकीय गन्तव्यहरू बताए ।

दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुनेमा विश्वस्त व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *