इलाम-२ निर्वाचन : एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस
काठमाडौँ । इलाम-२ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ ।
इलाम जिल्ला कमिटीले उम्मेदवारको दाबेदारहरूको नाम आज केन्द्रमा पठाएको हो । एमाले इलाम जिल्ला कमिटीले इच्छुकहरुबाट उम्मेदवार हुन आह्वान गरेर आएका नामलाई केन्द्रमा पठाएको हो । उम्मेदवार छान्न जिल्ला पार्टी कमिटीका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कमिटी बनाइएको थियो । सिफारिस गरिएका नामको सूचीमा एमालेले सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, रविन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल र रिप्पल राईको नाम केन्द्र पठाएको छ ।
सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएको थियो । त्यसपछि यो क्षेत्र रिक्त छ । नेम्वाङको निधनका कारण रिक्त क्षेत्रमा वैशाख १५ गते चुनाव हुँदैछ । त्यसका लागि चैत २४ गते मनोनयनको मिति निर्वाचन आयोगको तोकेको छ ।