काठमाडौंमा चौंथो हिमालयन हाइड्रो एक्स्पो शुरु
काठमाडौं । चौंथो हिमालयन हाइड्रो एक्स्पो बुधबारदेखि काठमाडौंमा शुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहको संस्था (इप्पान)ले आयोजना गरेको तीन दिने एक्स्पोको अवसरमा स्काई टावरदेखि विद्युतीय सवारी साधनहरुको र्यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु सहभागी थिए । स्काइ टावरबाट सुरु भएको र्याली नयाँबानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना, कुपण्डोल, लैनचौरबाट भृकुटीमण्डपमा आएर सकिएको थियो । एक्स्पोको औपचारिक उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाए ।
‘लगानी सम्मेलनको पूर्वसन्ध्यामा हिमालयन हाइड्रो एक्स्पोको आयोजना भइरहेको छ । यसले लगानी सम्मेलनलाई अझ सार्थक बनाउनेछ, मन्त्री बस्नेतले भने, ‘नेपालको जलस्रोत जुन प्रकृतिको छ, यसको महत्व जुन प्रकारको छ, त्यही रुपमा सदुपयोग अझ गर्न थप काम गर्नुपर्ने आवश्यकता छ । आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट यस क्षेत्रको विकास र बिस्तारको लागि काम गर्नेछौँ । कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको जानकारी दिए । सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै उनले त्यसलाई सार्थक बनाउन एक्स्पोले भूमिका खेल्ने बताए ।