२ दिने नेपाल भ्रमण सकेर कतारका अमिर स्वदेश फिर्ता
काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छ्न । २ दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विमानस्थलमा बिदाइ गरेका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए । मंगलबार काठमाडौँ आएका कतारका अमिर थानीले राष्टपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरको रात्री भोजमा सहभागी भएका थिए ।
त्यसपछि बुधबार बिहान अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वान टू वान र त्यसपछि द्विपक्षिय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए । द्विपक्षिय भेटवार्तापछि नेपाल र कतारबीच बिभिन्न क्षेत्रमा सहमति र सम्झौता गरिएको थियो । नेपाल कतारबीच कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
त्यस्तै युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका थिए । यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका थिए ।
कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा ११ वैशाखको अपराह्न नेपाल आइपुगेका हुन् ।