यहि हो प्रेस स्वतन्त्रता !
‘स्ट्न्टबाजी’लाई जीवन दर्शन बनाउने जमातका कारण अहिले मुलुक चौतर्फि संकटमा फस्दै गएको छ । सत्यनिष्ठा, इमान र मुलुकको कानुनलाई नाघेर एउटा निश्चित व्यक्ति र समुहको स्वार्थका लागि गोवल्स शैलीको प्रचारवाजीले छोप्ने दुस्कर्मका प्रभाव सर्वत्र पर्दै गएको छ । संविधान, कानुन र प्रचलित मुल्यमान्यतालाई कुल्चिएर दुनियाँको ध्यान अन्यत्र मोड्न र आफुले गरेका गंभिर अपराधलाई छोप्न केही स्वार्थी तत्वले हदैसम्मको फट्याइँ गर्दा समेत कानुनको दायरामा ल्याउन नसक्नु बर्तमान सरकारको लापर्वाही हो । अहिले गृहमन्त्री रवि लामिछाने र उनको कोर टीम को दुष्कर्मले सीमा नाघेको छ । अमेरिका छाडेर नेपाल आएपछि नै लामिछानेले पे्रस स्वतन्त्रता, पत्रकार आचार संहितालाई ठाडो चुनौति दिएका थिए । उनले कानुन मान्नुपरे साग बेचेर बस्छु समेत भनेका थिए । क्रसर उद्योग, बालुवा खानी सिमेन्ट उद्योग र साना ठुला व्यापारिक घटनाबाट पैसा उठाउने उनको कोर टीम भित्रका एक जना युवराज कँडेल भन्ने व्यक्तिले हालै एउटा नाटकीय स्ट्रिङ अपरेशनको प्रक्षेपण गरेका छन् । त्यसमा उनले एउटा अदालत, कानुन व्यवसायी , पत्रकार र पत्रिकाका प्रकाशकहरुलाई समेत मुछेर एउटा सनसनीपुर्ण कहानी बनाएका छन् । त्यस कहानीमा उनले गृहमन्त्री लामीछानेका विरोधीहरुलाई तारो बनाएका छन् । कहानीले टार्गेट गरेका महत्वपूर्ण पत्र एवं व्यक्तिहरुले उक्त तथा कथित स्ट्रिङ अपरेशनको बारेमा आफुलाई कुनै जानकारी नै नभएको बताएका छन् ।
न्यायाधीश समाज, वकिल र मिडिया व्यवसायीको कुरा नमान्ने हो भने पनि गृहमन्त्री लामिछाने कै निर्देशनमा बनाईएको उक्त कहानीले वास्तविकतालाई कसरी सिद्ध गर्छ भनेर गंभीरतापुर्वक हेर्नुपर्ने भएको छ । न्यायाधीश, वकिल र पत्रिकाका दुईजना मालिक सम्लग्न भएको भनिएको घटनालाई बर्षदिन भन्दा पुरानो बताइएको छ । एकबर्षसम्म उक्त घटना किन गुपचुप राखियो, अदालतले अख्तियारको स्ट्रिङ अपरेशनमा आफ्नै पैसा लगानी गरेर सेवाग्राहीलाई फसाउनुलाई गैरकानूनी भनेर फैसला गर्नासाथ वा गर्नुपूर्व त्यसको वास्तविकता किन सार्वजनिक गरिएन ? मुद्धाको सुनुवाइमा सामेल नै नभएका न्यायधिश डा. आनन्द मोहन भट्टराई, प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणा रामेश्वर थापा , कैलाश सिरोहिया, वरिष्ठ अधिवक्ता हरि उप्रेती समेत बोलेको किन सुनिदैन, अन्नपुर्णपोष्टको सातौँ तलामा भएको भनिएको वैठक कक्षमा प्रवेश गर्दा चुइँय.. गरेर ढोका किन बज्छ, वैठक कक्षमा कसले बच्चा लिएर गएका थिए र पटकपटक बच्चा रुन्छ , बाइक हर्न कुन सहभागिले बजाएका थिए, घुसलिने दिने कुरामा राउण्ड टेवल कन्फ्रेन्स गर्ने परम्परा कहिलेदेखि शुरु भयो, र सहभागिले नबोलेर नै दुई जनाको नक्कली सम्वादलाई सस्तो चलचित्रको कहानी झैँ प्रशारण गरी अनेक व्यक्तिको चरित्र हत्या कुन प्रयोजनले गरिदैँ छ , त्यसले प्रेसको विश्वसनीयता के हुन्छ , यसमा कानुनले व्यक्तिलाई प्रदान गरेको अधिकारमाथि हनन् गर्छ कि गर्दैन भन्ने प्रश्न स्वयम गृहमन्त्री , कानुन मन्त्री सञ्चारमन्त्री, प्रेस काउन्सिल र पत्रकार महासंघले समेत ध्यान पुर्याउनु जरुरी छ ।
यस सम्वन्धमा न्यायधिश, वकिल र पत्रिकाका प्रकाशकहरुले आफ्नो कुरा भनिसकेका छन् । सहकारी ठगीको सम्बन्धमा उठेको प्रश्नलाई अन्यत्र मोड्न गृहमन्त्री लामीछानेले यो प्रपञ्च रचेको भन्ने भनाइ अहिले ठुलो स्वरमा सुनिन्छ , यदि त्यसो होइन भने कुन उद्धेश्यले यस्ता नक्कली कहानी खडा गरेर अराजकता र अन्योल सिर्जना गर्ने काम भइरहेको छ । नेपाल पत्रकार महासंघले दिएको वक्तव्य गृहमन्त्रीको निर्देशनमा आएको होइन भने त्यसको पछाडिको उद्धेश्य के छ ? अहिले यी प्रश्नहरुको चित्तवुझ्दो जवाफ आउनु जरुरी छ । कसैप्रति चित्त वुझेन भने अनेक बनावटी आरोप लगाउने गृहमन्त्री लामीछानेले बसालेको परम्परा तोड्न नसक्ने हो भने नत प्रेस स्वतन्त्रता बच्छ , न त्यसको विश्वसनीयता नै, सँगसँगै मुलुकमा सुशासन र कानुनीराज पनि समाप्त हुने खतरा रहन्छ ।