समयको बज्रपात सहनु पर्यो
हिम्मत केही नभए पछि जिउँदो लास बन्नु पर्यो
चितामाथि राखेपछि जिउँदै भए पनि जल्नु पर्यो ।
ताराहरु झरिगए गगनमात्र खाली रह्यो
खुसी जति लुटिइनै सके केवल मुटु जली रह्यो ।
दैवले नै ठगेपछि भाग्यलाई दोष दिनै पर्यो
चितामाथि राखे पछि जिउँदै भए पनि जल्नु पर्यो ।
समयको गति सँगै पौंठाजोरी खेल्न नसकेपछि
मानिसले मानिसलाई को हो चिन्न नसकेपछि ।
समयको बज्रपातलाई छातीथापी सहनु पर्यो
चितामाथि राखेपछि जिउँदै भए पनि जल्नु पर्यो ।
पुष्पबाट आफै लाली उडेर गएपछि
स्वच्छ गगन किन कुन्नि तुवाँलोले मैलिएपछि ।
नयन भरि अश्रुकणको गाजल त लाउनै पर्यो
चितामाथि राखे पछि जिउँदै भए पनि जल्नु पर्यो ।
हिम्मत केही नभए पछि जिउँदो लास बन्नु पर्यो
चितामाथि राखे पछि जिउँदै भए पनि जल्नु पर्यो ।
(कमलामाई नगरपालिका ५,गैयाटार सिन्धुली, निवाशी साहित्य लेखिका नेपाल सरकारकी कर्मचारी हुन । रचना काल ः बि.सं.२०५८ असार २३ गते । हालसम्म प्रकाशित नभएको यो कविता बि.सं.२०५८ साल पुस ०६ गते रेडियो नेपालको मधुवन कार्यक्रममा प्रसारण भएको थियो) ।
(प्रतिकात्मक बिम्ब श्रेय ः निरोज दुम्जाली कोइरालाको मिति २३ बैशाख बि.सं.२०८१ मा साझा गरिएको सामाजिक सञ्जालको भित्ताबाट) ।