नेपालमा अवसरै अवसर छन्, मिलेर लगानी गरौं ः अध्यक्ष ढकाल
सिड्नी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै लगानीका लागि अस्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूलाई आह्वान गरेका छन् । नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघ, अस्ट्रेलियाको संयुक्त आयोजनामा अस्ट्रेलियाको सिड्नीमा शनिबार आयोजित ‘Understanding Nepalese Economy Investment Prospects and Banking Services’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका असमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएकोले नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका हुन् । ‘गत महिना आयोजना भएको लगानी सम्मेलन २०२४ लाई लक्षित गरी नेपाल सरकारले आधा दर्जनभन्दा बढी कानुनहरू संशोधन गर्दै प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानी वृद्धिका लागि वातावरण सिर्जना गर्न पहल गरेको छ, नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषि जन्य उद्योगहरूको प्रचुर सम्भावना रहेको छ। यी सबै सम्भावनालाई अवसरको रूपमा लिँदै नेपालमा लगानी गर्नुस् र यथोचित मुनाफा आर्जन गर्नुस् । अध्यक्ष ढकालले नेपाल सरकारले हालै आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट वक्तव्यमा १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनी स्थापना गर्ने र नेपालमा विभिन्न सम्भावित आयोजनाहरूमा लगानी गर्ने विषय समावेश गरेको उल्लेख गर्दै यसलाई अवसरको रूपमा लिन र नेपालमा लगानी गर्न अस्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गरे । ‘नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा हामीले १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनी स्थापना गर्ने र मुलुकका सातवटै प्रदेशमा रहेका स्थानीय सम्भावित आयोजनाहरूमा लगानी गर्ने निर्णय गरेका थियौँ । त्यस कुरालाई नेपाल सरकारले आगामी वर्षको बजेटमा सम्बोधन समेत गरेको छ, यसलाई हामी सबै नेपालीहरूले एक अवसरको रूपमा लिएर नेपालमा लगानी गर्ने, रोजगारी सिर्जना गर्ने र मुलुकको आर्थिक विकास र समृद्धिमा हातेमालो गर्ने अवसरका रूपमा लिनुपर्छ,’ उनले भने । अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआई डेक्स स्थापना गरेको बताउँदै मुलुकमा स्वदेशी तथा विदेशी दुवै लगानी भित्र्याउन आवश्यक सहयोग तथा सहजीकरण गर्न सदैव तयार रहेको बताए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बोमबहादुर मिश्रले कुनै पनि विदेशी व्यक्ति तथा गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुक बाहिर लैजान कुनै समस्या नरहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने समेत बताए। उनले नेपाली बैंकहरू ठूलाठूला लगानीका लागि समेत सक्षम बन्दै गएको बताए । उनले गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्न चाहेमा थप पुँजी जुटाउन ऋण लगानीका लागि समेत नेपाली बैंकहरू तयार रहेको उल्लेख गरे । नेपाल राष्ट्र बैंक नेपालमा लगानी बढाउन हरतवरले सहयोग गर्न तत्पर रहेको उल्लेख गर्दै उनले यसमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने बताए । ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपालमा लगानीका अवसर र सम्भावनाहरू निकै धेरै रहेको बताउँदै ती अवसरहरूलाई रियालिटीमा बदल्न सम्भावित आयोजनाहरू लिएर आएमा आवश्यक पर्ने पुँजी जुटाउन बैंकहरूले ऋण प्रदान गर्न सक्ने बताए ।