जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसीमाथि किन ? ठाकुर
काठमाडौं । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरूमाथि मुद्दा लगाइएकोप्रति सरकारलाई प्रश्न गरेका छन् । अध्यक्ष ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरू अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलाई महोत्तरी जिल्ला अदालतले आजीवन कैदको सजाय सुनाएको भन्दै यसप्रति असन्तुष्टि व्यक्त गरे । पुराना पार्टीहरू हतियार उठाएरै आए पनि उनीहरूमाथि कुनै मुद्दा नभएको गुनासो गरे । माओवादीहरू जनयुद्धमा हतियार उठाएर आए पनि उनीहरूप्रति कुनै मुद्दा नभएको भन्दै मधेसीमाथि किन मुद्दा लाग्यो भनि प्रश्न गरे ।
नेपाल राज्यको इतिहास शान्तिपूर्ण कहिले भएन । मारकाट, धोकाधडी, षड्यन्त्रले भरिएको यहाँको इतिहास हो । त्यसैले आजभोलि जुन घटनाहरू भइरहेको छ । त्यो कुनै नौलो घटना होइन । त्यो राज्यको चरित्र हो । र अदालतको पनि त्यही चरित्र हुन्छ । यहाँ पुराना पार्टीहरू हतियार उठाएर नै आएका छन् । माओवादीहरू जनयुद्ध गरेर नै आउनुभएको छ । तर, बताउन सक्नुहुन्छ ? उनको कुनै माथि मुद्दा छ ? कसैको माथि मुद्दा छ ? आन्दोलन गरेर आएका ? हतियार नै उठाएर आएका ? छैन । अनि मधेसीहरूमाथि नै किन ? उनले नेपाल राज्यको इतिहास कहिल्यै शान्तिपूर्ण नरहेको भन्दै पछिल्ला घटनाहरू कुनै नयाँ नभएको बताए ।