म जनताको शासक होइन, सेवक भएर काम गर्न चाहन्छु

समाजसेवाबाट राजनीतिकमा उदीयमान व्यक्तिहरु हुन् दौलतकुमार खत्री । नखुटोल मार्ग भैसेपाटीका स्थायी बासिन्दा खत्री ललितपुर महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष हुन् । सानैदेखि देश र जनताको लागि केही गर्नुपर्छ भन्ने भावनाले अभिप्रेरित खत्री नेकपा एमालेबाट पार्टी राजनीतिमा स्थापित भएका हुन् । समाज परिवर्तनमा समर्पित खत्री आफूलाई जानताको साशक नभएर सेवक ठान्दछन् । सधैं विकास निर्माण र जनताको सेवामा दत्तचित्त खत्री जुन पार्टीको चिन्हबाट निर्वाचित भए पनि जनप्रतिनिधि भइसकेपछि सबैको पक्षमा काम गर्नुपर्ने धारणा राख्छन् । विकास निर्माणको लागि जनप्रतिनिधिले पार्टीभन्दा माथि उठेर काम गर्नुपर्ने धारणा राख्ने खत्री इमान्दार नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनै भैसेपाटीवासी जनतामाझ लोकप्रिय नेता दौलत खत्रीसँग स्थानीय विकाससम्बन्धी समसामयिक विषयमा केन्द्रित रहेर सत्याग्रह साप्ताहिकको लागि गरिएको कुराकानीको सम्पादित अंश :

तपाईं निर्वाचित भएको दुई वर्ष नाघिसकेको छ, चुनावताका जनतालाई दिएको आश्वासन अनुसार कत्तिको काम गरेर सन्तुष्ट पारेँ जस्तो लाग्छ ?

मेरो कार्यकालको दुई वर्षमा यहाँका वाडावासीहरुले मबाट जति आशा गरेका थिए त्योभन्दा बढी नै काम गरेजस्तो लाग्छ । त्यो मैले भनेको होइन, यहाँका टोलीवासीहरुले नै भनिरहनुभएको छ । यस अघिको कार्यकालमा चार वर्षमा हुने काम यस पटक दुई वर्षमै भइसकेको यहाँका आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरुले भनिरहनुभएको छ । त्यो विषयमा मैले आफ्नो बयान गर्नुभन्दा पनि उहाँहरुलाई नै सोध्दा अझ सही उत्तर पाइन्छ जस्तो लाग्छ ।

योभन्दा पहिला पनि त्यस वडाको जनप्रतिनिधि हुनुहुन्थो ?

यसभन्दा पहिला म २०५४ सालमा यस ठाउँको वडा नम्बर तीनको वडा अध्यक्ष थिएँ ।

त्यतिबेला यो वडा तीन थियो, अहिले कति नम्बर वडा हो ?

२०५४ सालमा यो ठाउँ वडा नम्बर तीन थियो । अहिले ललितपुर महानगरपालिका वडा नम्बर २५ भएको छ । त्यतिबेला यो सैबु गाविस वडा नम्बर १, २, ३ र ४ लाई ललितपुर महानगरपालिकाको वडा नम्बर २५ बनाइएको हो ।

ललितपुर महानगरपालिका वडा २५ का जनतालाई स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पूर्वाधार अन्तर्गत पर्ने सडक सञ्जाल, सरसफाइमध्ये कुन चाहीं बडी महत्वपूर्ण छ जस्तो लाग्छ ?

नेपालको विकास क्रमको परिप्रेक्क्षेलाई हेर्दा भौतिक पूर्वाधार अन्तर्गत सकड सञ्जालकै कुरा मूल रुपमा आउने गर्दछ । त्यसमा बाटोघाटो, खानेपानी, ढल व्यवस्थापन, नयाँ बनेका सडक पिच, त्यसको साथसाथै व्यक्तिगत वृत्तिविकास, रोजगारीका कुराहरु छन् । त्योसँगै यहाँ धेरै सार्वजनिक जग्गालाई संरक्षण गर्ने विषयमा पनि समस्या नै छ । त्यसको संरक्षण, सम्वद्र्धन, व्यवस्थापन र वृत्तिविकासमा पनि चुनौती नै छ ।

सार्वजनिक जग्गा व्यक्ति वा संघसंस्थाहरुले कब्जा गर्ने गरेको विवाद कत्तिको छ तपाईंहरुकोमा ?

सार्वजनिक जग्गा व्यक्ति वा संघसंस्थाहरुले कब्जा गर्ने गरेको विकराल समस्या त हामीहरुकोमा छैन । त्यसमा सानातिना विवादहरु आउँछन् । राजधानीको छिमेमी जिल्ला भएकाले बस्ती पनि धेरै छन् । त्योसँगै सार्वजनिक जग्गाजमीनहरु पनि धेरै छन् । तर, ठूलो रुपामा सार्व्जनिक जग्गा व्यक्ति अथवा संघसंस्थाहरुले हडपेको अवस्था हाम्रो वडाभित्र छैन ।

ललितपुर महानगरपालिकाको मेयर नेपाली कांग्रेसबाट निर्वाचित चिरिबाबु महर्जन हुनुहुन्छ, तपाईं नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । फरक पार्टीको मेयर र फरक पार्टीको वडा अध्यक्ष हुँदा काम कारबाहीमा हस्तक्षेप हुने गरेको कत्तिको महसुस गर्नुभएको छ ?

कामकारबाहीमा हस्तक्षेप हुने नहुने व्यक्तिमा पनि भर पर्छ । हाम्रो नगरपालिकाको मेयर चिरिबाबु महर्जन नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ । अब उहाँ नेपाली कांग्रेसको हो म नेकपा एमालेको हुँ भनेर उहाँसँग सोधखोज र समन्वय नगरी कामकारबाहीमा अगाडि बढ्ने हो भने ती विषय उठ्छन् । तर, चिरिबाबु महर्जन नेपाली कांग्रेसबाट विजयी भएको मेयर भए पनि हाम्रा अभिभावक हुनुहुन्छ । त्यो हिसाबले अगाडि बढ्दै जाँदा अहिलेसम्म उहाँबाट हामीलाई सहयोग भइरहेको छ । यस वडामा म नेकपा एमालेबाट अध्यक्ष निर्वाचित भएपनि तीन जना सदस्यहरु नेपाली कांग्रेसबाटै निर्वाचित हुनुहुन्छ । त्यसमा एमालेको मसहित दुई जना छौं । म अध्यक्ष र एक जना दलित महिला सदस्य हुनुहुन्छ । मेरो वडामा तीन जना सदस्य कांग्रेसबाट निर्वाचित भए पनि उहाँहरुसँग मिलेर कामकारबाही अगाडि बढाएको छु । मेरो कार्यसम्पादनबाट नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य साथीहरु पनि मसँग काम गर्न खुसी हुनुहुन्छ ।

त्यसोभए तपाईंको वडामा राजनीतिक पार्टीको आधारमा खुट्टा तानातान गर्ने अवस्था छैन हो ?

हाम्रो वडामा राजनीतिक पार्टीको आग्रहपूर्वाग्रह राखेर खुट्टा तानातान गर्ने अवस्था अहिलेसम्म छैन । जनताको काम गर्न हामीहरुबीच को कुन पार्टीबाट निर्वाचित भएको भनेर आग्रहपूर्वाग्रह राख्ने अवस्था हाम्रो वडामा छैन ।

त्यसोभए तपाईंहरु जनताको काम गर्न विसुद्ध जनप्रतिनिधि भएर लागिपर्नुभएको हो ?

हो, हाम्रो वडामा मात्रै होइन, छिमेकी वडामा अधिकांश साथीहरु नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ । उहाँहरुसँग पनि एकदमै नजिक भएर कार्यसम्पादनको लागि सहकार्य, सहमति गरेर अगाडि बढेका छौं । जनताको काम गर्नको लागि साय, सल्लाह, सुझाव पनि कांग्रेसकै साथीहरुबाट पाएको छु । बरु अघिल्लो कार्यकालमा एमालेबाट निर्वाचित साथीहरुबाट कार्यसम्पादनमा असहयोग हुने, खुट्टा तान्ने प्रवृत्तिको सामना गरिरहेको छु । एमालेकै साथीहरुबाट कहानेर ठाउँ पाइन्छ र सिध्याउन पाइन्छ भनेर दाउ हेरेको देख्छु । तर, नेपाली कांग्रेसबाट निर्वाचित साथीहरुबाट काम गर्न असहयोग भएको छैन ।

वडा कार्यालयको लागि बजेट महानगरमार्फत आउँछ कि सोझै संघबाट आउँछ ?

हाम्रो वडाको लागि वार्षिक रुपमा ४ करोड बजेट विनियोजन भएको छ । त्यो बजेटको लागि हामीले आफ्नो वडाको आवश्यक विभिन्न शीर्षकहरु भरेर पठाउनुपर्ने हुन्छ । त्यसमा हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा निर्माण, महिला, बालबालिक, सामाजिक सुरक्षा, जेष्ठ नागरिक, एकल महिला, अशक्तता भत्ता, युवा स्वरोजगार लगायतका विषयहरु पर्दछन् । अर्को महानगरले ठाउँको सम्वेदनशीलतालाई मध्येनजर गरी पूर्वाधार, सामाजिक र शहरी विकास लगायतका सातवटा समितिहरु छन् । त्यो समितिबाट पनि हामीलाई माघअनुसार केही प्रतिशत छुट्ट्याइएको हुन्छ । ४ करोड नियमित बजेट भयो, त्यो बाहेक ६० देखि ७० लाख महानगरबाट थप बजेट पनि आउँछ ।

त्यसोभए चुनाव लड्दा जुन पार्टीबाट आएपनि जनप्रतिनिधि भइसकेपछि पार्टीभन्दा माथि उठेर जनताको काम गर्नुपर्छ हो ?

हो, चुनाव लड्न त पार्टीबाटै आइन्छ । तर, चुनाव जितिसकेपछि चाहीं म फलानो पार्टीको प्रतिनिधि हुँ भन्ने भावना नराखी त्यस क्षेत्रका सम्पूर्ण जनाको सेवक भएर काम गर्नुपर्छ । मलाई जनतालाई सेवकको रुपमा चुनेका हुन् भन्ने भावना हुनुपर्छ । चुनाव जितिसकेपछि म आजदेखि पाँच वर्षको लागि यस क्षेत्रका जनताको सेवक हुँ भन्ने भान हुन्छ । त्यसै अनुरुप कार्यसम्पादन अगाडि बढाएको छु ।

अहिलेका अधिकांश जनप्रतिनिधिहरुले आफूलाई हिजोका राजामहाराजा जस्तो शासक ठानिरहेका छन् अनि तपाईं कसरी जनताको सेवक हुँ भन्नुहुन्छ ?

सबै ठाउँका जनप्रतिनिधिहरुलाई एउटै ढालोमा राखेर हेर्न मिल्दैन । एउटा व्यक्तिको हातका पाँच औंला त सबै बराबर छैनन् । यस परिप्रेक्क्षमा म एउटा फरक प्रकृतिको मान्छे हुँ । त्यसमा मैले भन्दा पनि सर्वसाधारण जनताले भन्दा उपयुक्त होला ।

तपाईंको वडामा आउँदै गरेको बजेट कुन क्षेत्रमा केन्द्रित गरेर अगाडि बढ्नुहुन्छ ?

अत्यन्तै मार्मिक प्रश्न गर्नुभयो । यो क्षेत्रलाई केन्द्रित गरेर अगाडि बढ्छु भन्ने ठ्याक्कै छैन । त्यसमा राजनीतिक आग्रहपूर्वाग्रह पनि हुँदैन । हिजो म चुनाव लड्दै गर्दा र आजपनि आफ्नै पार्टीका साथीहरुले बढी खुट्टा तान्ने, असफल बनाउन खोज्ने, फसाउन जोख्ने जस्ता क्रियाकलप गरेकै हुन् । त्यसैले यो पार्टी, ऊ पार्टी, यो क्षेत्र, त्यो क्षेत्र, मेरो पार्टी, उसको पार्टी भन्ने भन्दा पनि जनताको चाहना र भूगोलको आवश्यकता अनुसार अगाडि बढ्ने हो । कुन पार्टीका साथीहरु बस्ने ठाउँभन्दा पनि कुन ठाउँमा आवश्यकता छ त्यसलाई हेरेर अगाडि जानुपर्छ । जस्तो बाटाघाटो, खानेपानी र ढलनिकासको समस्या तर त्यहाँ कांग्रेस अथवा अन्य पार्टीका साथीहरुको बसोवास छ भने पनि त्यो ठाउँमा काम गर्नुपर्छ । त्यसैले म भन्छु, राज्यका जुनसुकै तहको होस् जनप्रतिनिधिले पार्टीभन्दा माथि उठेर त्यस क्षेत्रका सम्पूर्ण जनताको हितमा काम गर्छुपर्छ ।

तपाईंको वडाको आन्तरिक आयस्रोत के हो ?

मेरो वडाको प्रमुख आयस्रोत भनेको घर कर नै हो । अन्य उत्पादनमुलक आयस्रोत र उद्योगधन्दा हामी कहाँ छैन । यस वडामा २४ देखि २५ सय हाराहारी घरहरु छन् । महानगरको आन्तरिक आयस्रोत भनेको घर कर नै हो । पहिला जग्गा प्लटिङ्गहरु पनि थिए अहिले त्यो त्यति छैन ।
तपाईंको वडामा बाटोघाटो लगायत भौतिक पूर्वाधारको समस्या कस्तो छ त ?
भौतिक पूर्वाधारको कुरा गर्नुपर्दा बाटोघाटो सबै ठाउँमा पुगेकै अवस्था छ । त्यसलाई कालोपत्रे, व्यवस्ूिथत गर्ने विषयमा म आउनुभन्दा पहिलाका जनप्रतिनिधिहरुको खासै आँखा परेनन् । म जनप्रतिनिधि भएर आइसकेपछि दुई वर्षको अवधिमा ती समस्याहरु लगभग समाधान भइसकेका छन् । त्यसकारण भौतिक पूर्वाधारको क्षेत्रमा निकै सुधार भइसकेको पाएको छु ।

स्थानीय सर्वसाधारणले जनप्रतिनिधि र कर्मचारीबाट विभिन्न किसिमका झन्झट र सास्ती व्यहोर्नुपरेका गुनासाहरु छन् तपाईंकोमा त्यस्तो छैन ?

स्थानीय सेवाप्रवाह भन्नाले जन्मदर्ता, मृत्युदर्ता, नागरिकता, पासपोर्टका सिफारिस, सामाजिक सुरक्षा भत्ता, एकल महिला, अशक्तता भत्ता, स्वास्थ्य बीमा, बसाईंसराई सिफारिस लगायत हुन् । यस्ता विषयमा जनप्रतिनिधि र कर्मचारीबीच समन्वय गरेर छिटोछरिटो र चुस्तदुस्त सेवाप्रवाहको लागि व्यवस्था गरेका छौं । महानगरले तोकेका आवश्यक कागजात पुगेका कामहरु तुरुन्तै हुन्छन् । कतिपयले आवश्यक काजगात र डकुमेन्ट नपुगेपनि भइहाल्छ भनेर आउनुहुन्छ त्यस्तामा चाहीं अलिकति झन्झट हुन्छ । डकुमन्ट पुगेका कामहरु मैले तोक लगाइदिएपछि पाँच मिनेटभित्र काम हुन्छन् । कतिपय कामहरु हामीले हुन्छ भन्दा पनि कर्मचारीहरुले घुमाउन खोज्छन् तर घुमाउन सक्नुभएको छैन ।

सरकारको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई के भन्न चाहनुहुन्छ ?

जो स्थानीय सरकारको पहुँचभन्दा बाहिर हुनुहुन्छ । आफूले पाउने सेवा, सुविधाबाट बञ्चित हुनुहुन्छ । तपाईंहरु तुरुन्त वडा कार्यालयमा आउनुहोस् । जति बेलापनि मलगायत वडाका प्रतिनिधिहरु तपाईंले पाउने सेवा, सुविधामा सहयोग गर्न हामी तयार छौं भन्न चाहन्छु ।

सर्वसाधारणको लागि जनचेतनामुलक कार्यक्रमहरु कत्तिको गर्नुभएको छ ?

सर्वसाधारणमा जुनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने हाम्रो महिला सञ्जाल छ । उहाँहरुमार्फत त्यस्ता कार्यक्रमहरु नियमित गराराखेका हुन्छौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *