अर्थतन्त्रलाई माथि उठाउन सहकारीले खेलेको भूमिका बिर्सनुहुन्नः मन्त्री अर्याल

काठमाण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सहकारीले मुलुकको अर्थतन्त्रलाई माथि उकास्न खेलेको भूमिकालाई बिर्सन नहुने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो रोजगार मेलाको समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उनले देश परिवर्तन गर्न र अर्थतन्त्रलाई चलायमान गर्न सहकारीले खेलेको भूमिका महत्वपूर्ण भएको जनाए । सहकारीको माध्यमबाट धेरैले ससाना व्यापार व्यवसाय गरी स्वरोजगार बन्दै आएको उनले जनाए । आम मानिसहरुमा कसरी बचत गर्ने र त्यसको परिचालन गर्न सहकारीले नै सिकाएको उनले उल्लेख गरे । सहकारीले सदस्यहरुको उत्पादनलाई बजारीकरणमा समेत सहयोग पुर्‍याएको उनको भनाई छ । सहकारी मार्फत थुप्रै उपलब्धी भएको भन्दै उनले सहकारीले समाज रुपपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। एकाध व्यक्तिले सहकारीलाई गलत प्रयोग गरेको भए पनि सबै संस्थाको बदनाम गर्न नहुने उनको भनाई छ । उनले भने,‘सहकारीले किसानले उत्पादन गरेको वस्तुको बजारसम्म पहुँच पुर्याएको छ । एक माना दुध, मह र घिउ बेच्ने वातावरण सहकारीले सृजना गरेको छ ।

हरेक टोलमा गएर सहकारीले बचत गर्ने, उद्यमशीलता विकास गर्ने र बजारीकरण गर्ने विषयमा खेलेको भूमिका महत्वपूर्ण छ । एउटा जमातले सहकारी ठगी गर्ने थलो मात्र हो भनेर हिँडेको र अर्को जमात आफुले राखेको अवैध धनलाई कसरी लुकाउन सकिन्छ भनेर लागि परेको उनको भनाई छ । सहकारीले समाजमा पुर्‍याएको योगदानका बारेमा बुझाउन नसकेको भन्दै उनले योे विषयमा बहस चलाउन आव्हान गरे । सहकारीको माध्यमबाट आर्थिक तथा सामाजिक परिवर्तन गरेका नागरिकहरुलाई अगाडि बढाएर सहकारी किन आवश्यक छ भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको मन्त्री अर्यालको भनाई छ । स्थानीय उत्पादनको प्रयोग बढाउन सके सबल अर्थतन्त्र निर्माण हुने उनको भनाई छ । उनले विदेश जाने युवाको विषयमा बहस गर्नुभन्दा पनि देशमा नै कसरी बस्ने वातावरण बनाउने भनेर सबै पक्ष लाग्ने बेला आएको बताए। पहिलो पटक विदेश जान खोजेकालाई रोक्नु भन्दा पनि एक पटक विदेश गएर फर्किएकालाई विदेश जान नपर्ने वातावरण बनाउनु पर्नेमा उनको जोड छ । युवालाई विदेश जानबाट रोक्न नसकिने भन्दै उनले विदेश गएकाहरुले पुँजी ,सिप र ज्ञान लिएर आउने बताए । नारा र ठुला भाषणले मात्र युवा विदेश जान नरोकिने मन्त्री अर्यालले बताए । स्वदेशमा केही गर्नका लागि अवसर सृजना गर्नुपर्नेमा उनले जोड दिए । कसरी रोजगारी सृजना गर्न सकिन्छ, धेरै भन्दा धेरैलाई स्वरोजागर बनाउन सकिन्छ, त्यसतर्फ सबै पक्ष लाग्नु पर्नेमा उनको जोड छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *