उपसभापतिद्वारा कुवेतमा गैरकानुनी रूपमा महिला पठाउने काम रोक्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली महिलालाई कुवेतमा गैरकानुनी रूपमा पठाउने काम रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपसभापति गुरुङले पछिल्लो ६ महिनामा १० हजार नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पठाउने काम भएको बताए । ‘पछिल्लो ६ महिनाभित्र १० हजार नेपाली महिला दिदी बहिनीहरु गैरकानुनी बाटोबाट कुवेत पुगेको सूचना प्राप्त भयो । कुवेतमा घरेलु कामदार पठाउन बन्द गरौँ । सरकारले ढोका बन्द गरे पनि झ्याल खुला राखिदियो । झ्याल खुल्ला राखिदिँदा नेपाली दिदी बहिनीले साह्रै दुःख पाइराखेका छन्,’ उनले भने ।
नेपाली महिला दिदी बहिनीलाई नेपालबाट सेटिङ गरेर दुबई हुँदै कुवेत पुर्याउने काम रोक्न सरकारको पूर्ण रुपमा ध्यानाकृष्ट हुनुपर्ने गुरुङले बताए ।