आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ ।

आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा राना मगरले बहुमत पुगेर प्रतिनिधिसभाबाट बजेट पारित भएको घोषणा गरेकी हुन् । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए । उक्त बजेटलाई अर्थमन्त्री पुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमा छलफल गरेका थिए ।

त्यसपछि अर्थमन्त्री पुनले आजको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई संसदका सांसदहरुले सहमति जनाएपछि बहुमतले पारित भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *