प्रभु बैंकका कर्मचारीलाई नेपाल क्यान्सर हस्पिटलमा छुट
काठमाडौं । प्रभु बैंक र ललितपुरको हरिसिद्धिमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सहकार्य भएको छ । सहकार्यका लागि बैंक र हस्पिटलबीच समझदारी भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट बाग्मति प्रदेश ३ का प्रमुख राजु के.सी. र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।
उक्त समारोहमा विशेषगरी महिला कर्मचारीहरुलाई लक्षित गरी स्तन र पाठेघरसम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो । स्तनसम्बन्धी क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघरसम्बन्धी क्यान्सरकी डा. अनु बज्राचार्यले चेतनामुलक सन्देश प्रस्तुत गरेका थिए भने समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता थियो ।