अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध
काठमाडौँ । अविरल वर्षाले खोटाङ जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् ।
वर्षासँगै आएको बाढी-पहिरोले कच्ची अवस्थामा रहेका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् । ग्रामीण सडक अवरुद्ध भएपछि जिल्लाका स्थानीय तहहरु राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएका छन् । स्थानीय तहसँग जोडिएको सबै ग्रामीण सडक अहिलेसम्म कच्ची अवस्थामा रहेकाले समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।
जन्तेढुङ्गा, बाराहापोखरी र खोटेहाङ गाउँपालिकाको कच्ची सडक हिलाम्य भएपछि सञ्चालन हुन सकेको छैन । केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकालगायतका ग्रामीण क्षेत्रमा पनि झरीले बाटो हिलाम्य हुँदा यातायात सञ्चालन हुन नसकेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङको जानकारी दिए ।
यसबाहेक सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक पनि अवरुद्ध छ । यसले जिल्लाबाट तराई जान र तराईबाट जिल्ला आउन समस्या भएको छ । जिल्लाका केही ठाउँमा पहिरो तथा रुखले ग्रामीण सडक अवरुद्ध गरे पनि स्थानीय र प्रहरीले खुुलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवरुद्ध ग्रामीण सडक खुलाउने विषयमा स्थानीय तहहरुले पहल नगरेको यातायात व्यवसायीले आरोप लगाएका छन् । राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोममार्ग भने निरन्तर सञ्चालनमा रहेको खबर आएको छ । मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा झरेको पहिरो प्रभावित बनाएको छ ।
बाढी तथा पहिरोबाट जोगिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरिरहेका छन् । मनसुनजन्य विपद् व्यवस्थापनका लागि जिल्लास्थित सबै संयन्त्र तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । जिल्लास्थित दशवटै स्थानीय तहले समेत विपद् व्यवस्थापनका लागि आ–आफ्नो क्षेत्रमा तयारी गरेको पाइएको छ ।
प्रहरीले गरेको सर्वेक्षणअनुसार दश स्थानीय तह रहेको जिल्लामा मनसुनजन्य विपद् बाढीबाट ८५ घरधुरीको तीन २० र पहिरोबाट चार सय ३९ घरधुरीको एक हजार सात सय ६१ जना मानिस उच्च जोखिममा रहेका छन् । मनसुन सुरु भएसँगै उच्च जोखिममा रहेका स्थानीय बासिन्दालाई मातहतका प्रहरी परिचालन गरेर सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए ।