उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकोमा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो । महासंघ कार्यसमितिको आजको बैठकबाट सर्वसम्मतरूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यसमिति बैठकले सर्वसम्मतरूपमा विधान पारित गरेको र अबदेखि अध्यक्ष निर्वाचनबाट चयन हुने जानकारी दिए ।

यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को कार्यकालपछि लागु हुने उनले बताए । अध्यक्ष प्रत्यक्ष निर्वाचित हुँदा संस्थालाई राम्रो हुने ठानेर आफूले गएको निर्वाचनकै बेला विधान संशोधनको वाचा गरेको र अहिले आफ्नो प्रस्तावलाई कार्यसमितिले सर्वसम्मत पारित गरेकामा उनले समितिलाई धन्यवाद दिए । संशोधित विधानमा दुई जना वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएको छ । हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्ष रहने प्रावधान राखिएको छ । संशोधित विधान आगामी मंसिर मसान्तभित्र महासंघको विशेष साधारणसभाले पारित गर्ने अध्यक्ष ढकालले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *