अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याका लागी प्रधानमन्त्री सकारात्मक

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरू हटाउन प्रधानमन्त्री सकारात्मक देखिएका छन् । सोमबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त छलफलमा अध्यक्ष चौधरीले विशेषगरी अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैकहरुबाट निजी सवारी साधनको हायर परचेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालूको हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने बताए । यस्तै, उनले चालुपुँजी कर्जा मार्ग दर्शन २०७९ लागु भएपछि लागु भएको मिति भन्दा अगाडी कर्जा लिएकाहरुलाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मिति पछी कर्जा लिएकाहरुलाई मात्रै चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने जानकारी दिए । त्यसैगरी सो छलफलमा अध्यक्ष चौधरीले नेपालमा विद्युतिय सवारी साधनहरुको आयात बढदै गएको भएपनि सोही अनुरुप राजमार्ग तथा सहरहरुमा चार्जिङ्ग स्टेशनहरुको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतिय सवारी साधनहरुका सम्बन्धमा सरकारले स्थायी प्रकृतीको नीति नियम ल्याउनु पर्ने जिकिर गरे ।

सोही छलफलको क्रममा अध्यक्ष चौधरीले दुई पांग्रे सवारी साधनहरूको सन्दर्भमा पनि पैठारीकर्ताले डिलरलाई बिल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्थाका लागिसमेत आग्रह गर्दै नेपालमा आयात भइरहेको बताए । साथै, दुई पांग्रे सवारी साधनहरू मध्ये करिब ९८ प्रतिशतभन्दा बढी आयात भारतमा निर्मित दुई पांग्रे सवारी साधनहरू भएको तर हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज, भारतमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज अनुसार नभइ फरक साइजको भएकोले सवारी सञ्चालनको क्रममा अगाडिको सकरमा ठोकिने भएको कारणले चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको नाडाको भनाइ छ । त्यसैले इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागु भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेट मध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गरि दिनसमेत नाडाले प्रधानमन्त्रीलाई अनुरोध गरेको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल उद्योगहरूको समस्या र चुनौतीहरू बारे जानकारी दिए । सो छलफलमा प्रधानमन्त्री ओलीले सवारी साधन, टायरटयूव, ब्याट्री तथा लुव्रिकेन्ट उद्योगहरूको वर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राख्दै प्रस्तुत समस्याहरूको समाधानका लागि आवश्यक पहलकदमी लिइने आश्वासन दिएका थिए । उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा एशोसिएसन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *