कांग्रेस– एमालेले आफुसँग भएको सामथ्र्य प्रयोग गरेर देशलाई अहिलेको संकटबाट मुक्त गर्नैपर्छ
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको संयुक्त सरकारले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान गराउने संकेत दिए पनि त्यसमा भर परिहाल्ने स्थिति अझैँ देखिएको छैन । गत आइतबार प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासको मत प्राप्त गरेपछि दुई ठुला दलबीचको सहमतिले स्थीरताको संकेत दिएको छ ।
दुई दलबीच भएको सात बुँदे सहमति सार्वजनिक भएपछि कांग्रेस र एमालेबीचको सरकारको नेतृत्वको लिखित सहमति पनि सार्वजनिक भएको छ । कांग्रेस र एमालेबीचको सरकारको नेतृत्वको लिखित सहमति पनि सार्वजनिक भएको छ । कांग्रेस एमालेबीच भएको सहमति गोप्य राखेको भनेर माओवादी र रवि लामीछानेको राष्ट्रिय स्वतन्त्र पाटीले उठाएको मुद्धा पनि अब समाप्त भएको छ । ओली दुई बर्ष प्रधानमन्त्री बन्ने र आगामी निर्वाचन ताका कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमतिमा हस्ताक्षर भएको कुरा अब गुप्त र रहस्यमय छ भनेर प्रचार गर्न नसकिने भएको छ । अहिले मुलुकमा ब्याप्त भ्रष्टाचार ,तस्करी ,लुटतन्त्रको साम्राज्यलाई चिर्ने कोशिस नै भएको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासनको दिशामा कुनै ठोस कदम नगरे पनि भ्रष्टाचार नियन्त्रणमा इतिहासमै सबैभन्दा धेरै काम गरेको प्रचार गर्यो । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा काण्ड र अन्य केही साना तिना घटनालाई अतिरञ्जित गरी दाहाल नेतृत्वको सरकार साँच्चै स्वच्छ र पारदर्शी हो भन्ने प्रचार व्यापक रुपमा गरियो । तर पटक पटक फाइल खोल्ने, अभियुक्त समात्ने प्रचार गरेर जनताको आखाँमा धुलो छ्याप्ने काम मात्र भयो ।
दाहाल सरकारको नेतृत्वमा पुगे लगतै लगातार एउटै थिएन । पुर्व सभामुख एवं माओबादी नेता कृष्णबहादुर महरा, पुर्व उपराष्ट्रपति नन्दबहादुर पुन पुत्र दिपेश पुनको सुन तस्करीमा प्रमाण सहित मिडियामा आएका समाचारलाई ढाकछोप गर्न नसकेर समातेर धरौटीमा छोडी चोख्याउने काम नै गर्यो । सुनकाण्डमा मुछिएका बर्षमान पुनसम्म त कारबाहीको डण्डा पुग्नै सकेन । उल्टै उनलाई अर्थमन्त्री बनाएर पुरस्कृत गरियो । दाहाल सरकारका गृहमन्त्रीले त गृहमन्त्रीको हैसियतले गर्ने सारा काम छाडेर फाइल खोल्छु , फाइल खोल्छु भन्ने धम्की दिदैँ बकवास गर्नमै सम्पुर्ण समय खर्च गरे । मुलुकमा अनेक संकट आउँदा , असुरक्षा हिंसा हत्या हुँदासम्म गृहमन्त्रीको कुनै खुटखबर भएन ।
गृहमन्त्री आफ्नो काम छाडेर स्टन्ट्बाजीमा नै व्यस्त रहे । प्रधानमन्त्री स्वयम गृहमन्त्रीलाई सहकारी ठगी काण्डबाट मुक्ति दिन अनेक प्रपञ्च रच्न व्यस्त रहे । पछिल्लो सरकारले राष्ट्रलाई अराजकता, अन्योल र अस्थिरताको भुँमरीमा हालेको आरोप लगाउने बर्तमान गठबन्धनले मुल रुपमा मुलुकमा रहेको आर्थिक संकटलाई हटाउने, बेरोजगारी घटाउने, शान्ति सुरक्षा कायम गर्ने, भ्रष्टाचारलाई साँच्चै नियन्त्रण गर्ने , शिक्षा र स्वास्थ्यको क्षेत्रमा रहेका समस्या हल गर्ने दिशामा प्रभावकारी कदम उठाउनु आवश्यक छ । अहिले जनता पुराना दलहरुप्रति , तिनका नेताले गरेको कामप्रति सन्तुष्ठ छैनन । भ्रष्टाचार मौलाउनमा तिनै पुराना दलका नेता जिम्मेवार छन भन्ने संदेश गएको छ । असन्तुष्ठ जनता अहिले स्टन्ट्वाजीमा रमाउने नयाँ भनिने दल र विवादस्पद व्यक्तिप्रति सकारात्मक देखिएका छन । हुन त जनताको निर्णय क्षमता धेरै अघिदेखि प्रश्नको घेराभित्र छ । वि.सं. २०४६ को आन्दोलनका सर्वाेच्च कमाण्डर गणेशमान सिंहले त नेपाली जनतालाई भेडाको संज्ञा समेत दिएका थिए । सुझवुझ संयम धैर्य र संचेतनाका दृष्टिले नेपाली जनता धेरै पछि नै छन् ।
लोकतन्त्र प्रजातन्त्रको आन्दोलनमा साथ दिएपनि जनताले सही सिद्धान्त , नीति कार्यक्रम र नेतृत्वलाई चुन्ने कुरामा सर्दैव चुक्दै आएका छन । हुन त पटक पटक जनमत प्राप्त गरेका, जनताले अवसर दिएका कांग्रेस एमाले नै जनताका अधिकार दिने मामिलामा, मुलुकको हितमा काम गर्ने सवालमा लोकतन्त्रलाई सवल गर्ने कुरामा खरो उत्रन सकेनन् । तिनले अवसरको दुरुपयोग गर्दै भ्रष्टाचार गर्ने , परिवारवादी दलदलमा डुब्ने , कार्यकर्ता पाल्न राष्ट्रको सम्पति दोहन गर्ने काम गरिरहे । गैर उत्तरदायी व्यवहार र अपारदर्शी चरित्रका कारण कांग्रेस एमाले नेताहरुले जनताको मत जित्न सकेनन् । त्यही कुराको लाभ उठाएर माओवादीले दशबर्ष आतंक मच्चायो । सत्र हजार जनताको हत्या गर्यो । लाखौँलाई अंगभंग गरायो , करोड जनतालाई आफ्नो थातथलोबाट विस्थापित गरायो । त्यही माओवादीलाई सत्तामा पुर्याउने भरेङ बनेर एमाले र कांग्रेसले जनतालाई पटक पटक धोखा दिए । अहिले माओवादी पनि कमजोर भएपछि अर्काे नौटकको शुरु भएको छ , रास्वपाको नाममा नब्बे प्रतिशत आपराधिक पृष्ठभुमिका व्यक्तिलाई लिएर गठन गरिएको त्यो दलको नत कुनै संगठनात्मक आधार छ, न बैचारिक सैद्धान्तिक आधार नै छ । र पनि मुलुकमा शासन गर्ने, सुशासन गर्ने ध्वाँस दिइरहेको छ । त्यस पार्टीका एकपछि अर्काे नेताका कुकृत्यहरु सार्वजनिक हुदाँ समेत जनताले तिनकै पक्षपोषण गरिरहनुभन्दा अर्काे विडम्वना के हुन्छ ? यो सबै कांग्रेस एमालेले तीसबर्षसम्म जनतालाई धोखा दिएको परिणाम हो ।
अब कांग्रेस एमाले सुध्रनुपर्छ , नारामा र भाषणमा होइन, व्यवहारमा नै सुध्रिनुपर्छ । इमान्दार भएर राष्ट्र र जनताको सेवा गर्ने सपथ लिनुपर्छ । जनताको लागि , प्रजातन्त्रका लागि र राष्ट्रका लागि समर्पित हुने पुरानो प्रतिवद्धतालाई सम्झनुपर्छ । कांग्रेस एमाले सुध्रिएर सही बाटोमा आए भने जनताले तिनलाई क्षमा पनि दिनेछन । र, राष्ट्रको संकट पनि हट्ने छ । महंगी , अभाव, कालावजारीले आजित जनतामा आशा जगाउने सामथ्र्य यिनै दुई दलमा छ, अरुमा छैन । आफुसंग भएको त्यो सामथ्र्य प्रयोग गरेर कांग्रेस एमालेले इमान्दारीका साथ काम थाल्नुपर्छ । अनावश्यक , अन्टसन्ट बोलेर हासीमजाकको पात्र बन्न छाडेर मन्त्रीहरुले अहोरात्र खटेर जनताको काम गर्नुपर्छ । त्यही नै जवाफ हुन्छ अनेक ढंगले लञ्छित गर्ने विपक्षीलाई ।