तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं: कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन जोडिएको बताएका छन् ।
आज (शुक्रबार) बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले तीन महिनाको समय दिएको र सो अवधिमा सबै बाँकी पैसा तिर्नुपर्ने बताए । अन्यथा प्राधिकरणले नियमानुसार आफ्नो काम गर्ने उनको भनाइ छ । ‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई फेरि तीन महिनाको समय दिएर लाइन जोडिदिएका छौँ । त्यतिबेलासम्म पनि उद्योगले बुझाउनुपर्ने पैसा बुझाएनन् भने प्राधिकरणले आवश्यक निर्णय लिनेछ’ उनले भने ।
उनले केही उद्योगले भने लोडसेडिङको अन्त्य भएपछि पनि भुक्तानी गरिरहेको बताए ।‘केही उद्योगले पैसा तिरिरहनुभएको छ । कसैले लोडसेडिङ अन्त्य भएपछि पनि तिरिरहेका छ्न् । १७४ उद्योगले तिरेका छन् । बक्यौता नलिने भएमा लिएका उद्योगको पैसा फिर्ता गर्न तयार छौँ’ उनले भने । कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरण अहिले ४६ अर्ब नाफामा भएको बताए ।‘हाम्रो ४६ अर्ब सञ्चित नाफा छ । बक्यौता उठ्न बाँकी २१ अर्ब जोड्ने हो भने हामी ६० अर्ब नाफामा छौँ’, उनले भने ।
डेडिकेटेड र टंक लाइन विवाद हुँदा गत साता प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको थियो । केपी शर्मा अोली नेतृत्वमा नयाँ सरकार बन्नसाथ प्राधिकरणले उद्योगमा लाइन काटेपछि प्रधानमन्त्री र प्राधिकरणबीच टसलसमेत परेको थियो ।