आर्यन फिल्म ‘घर नम्बर २’ मा अनुबन्धित
काठमाडौं । अभिनेता आर्यन सिग्देल दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म ‘के घर के डेरा ः घर नम्बर २’ को मुख्य भूमिकामा उनी अनुबन्धित भएको जनाइएको छ । यसअघि फिल्ममा खगेन्द्र लामिछाने र निश्चल बस्नेतपछि सिग्देल यो सोसल ड्रामा फिल्ममा जोडिएका हुन् । आर्यन र निर्माताबीच लिखित सम्झौता भएको छ । फिल्ममा उनको भूमिकाबारे केही खुलाइएको छैन । तर उनी आफ्नो भूमिका र फिल्मलाई लिएर उत्साही सुनिए । आर्यनको पछिल्लो फिल्म ‘पुजार सार्की’ घरेलु बक्स अफिसमा सफल रह्यो । यो फिल्मले उनको संकटग्रस्त करिअरलाई उकासेको बताइएको छ ।
त्यसयता फिल्ममा आर्यनको डिमान्ड बढ्न थालेको देखिन्छ । ‘छक्कापञ्जा ५’ मा समेत आर्यनले अभिनय गरेको चर्चा छ । तर यसबारेमा निर्माताले स्वतन्त्र पुष्टि गरेका छैनन् । ‘के घर के डेरा’को यो दोस्रो श्रृंखलाको छायांकन साउन २५ गतेदेखि सुरु हुने जनाइएको छ । यो फिल्ममा दुई अभिनेत्री तय हुन बाँकी रहेको निर्माताले जनाएका छन् । ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको पटकथा बुद्धिसागरले लेखेका हुन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । कार्यकारी निर्माता युवराज कार्की हुन् ।