श्रीलंकाविरुद्धको शृंखलामा भारतको ‘क्लिनस्विप’
काठमाडौं । घरेलु टिम श्रीलंकाविरुद्ध मंगलबार राति भएको तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलमा घरेलु टिमविरुद्ध सुपर ओभरमा जित निकाल्दै भारतले शृंखला ‘क्लिनस्विप’ गरेको हो । भारतले प्रस्तुत गरेको १३८ रनको लक्ष्य पछ्याउँदा श्रीलंकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३७ रन बनाएपछि खेल टाई भएको थियो । सुपर ओभरमा पहिले ब्याटिङमा आएको श्रीलंकाले दुई रनमात्र बनाएपछि भारतले जितका लागि ६ बलमा तीन रनको लक्ष्य पाएको थियो ।
जसमा भारतबाट ब्याटिङमा आएका सूर्यकुमार यादवले पहिलो बलमै चौका प्रहार गरि टिमको जित पक्का गरे । यसअघि शृंखलाको पहिलो खेलमा भारत ४३ रनले र दोस्रो खेलमा सात विकेटले विजयी भएको थियो । यी दुई टिमबीच अब तीन खेलको एकदिवसीय शृंखला हुने तालिका छ । एकदिवसीय शृंखला अगस्ट २ देखि सुरु हुनेछ ।