बलाधिकृत रथी सिग्देल सेनाका कायम मुकायम प्रधान सेनापति
काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन २५ गतेदेखि लागू हुनेगरी बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी तोके लगत्तै सङ्गठनको नेतृत्व गर्ने बाटो खुलेको छ । राष्ट्रको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रुपमा रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन् ।
प्रधान सेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् । प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधान सेनापतिको जिम्मेवारी पाएका हुन् ।
बलाधिकृत रथी सिग्देलले आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उनले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा पनि भाग लिएका रथी सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
अठ्तीस वर्षको सैन्य जीवनमा रथी सिग्देलसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कूलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ । सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि उनीले नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए ।
कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को सचिवका रूपमा पनि उनले काम गरे ।
उनले सैनिक सङ्गठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेनाअन्तर्र्गत पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता चुनौतीपूर्ण स्थानमा सेवा गरिसकेका छन् ।
सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप उनी सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित छन् । सङ्गठनको उन्नयनमा उत्कृष्ट योगदान पुर्र्याएबापत उनले दुईपटक ‘प्रधान सेनापति प्रशंसा पदक’समेत पाएका छन् ।
सम्माननिय राष्ट्रपति पौडेलले ज्येष्ठता आधारमा सिग्देललाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ९३० बमोजिम मन्त्रिपरिषद्को सिफारिसका आधारमा नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोकेका हुन् ।