सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को समर्थनमा शाहलाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहलाई नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन छ । यसअघि, आजै बसेको कांग्रेस संसदीय दलको बैठकबाट दलका नेता शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरिएको थियो । मुख्यमन्त्रीका निम्ति कांग्रेसभित्र दलका नेता शाहसहित बहादुरसिंह थापा, प्रकाशबहादुर देउवा र दिवानसिंह विष्ट आकांक्षी थिए । केन्द्रको निर्देशनानुसार शाहलाई नै मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ । शाह दोस्रोपटक प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी ०७९ मा भएको आमनिर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर–२ ‘कबाट निर्वाचित भएका थिए । यसअघि, ०७९ माघ २७ गते नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
केन्द्रमा फेरिएको समीकरणसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले गत चैत २२ गते पदबाट राजीनामा दिएका थिए । त्यसपछि बनेको नयाँ समीकरणअनुसार गएको वैशाख ६ गते एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेका थिए । फेरि केन्द्रमा कांग्रेस र एमालेसहितको सत्ता गठबन्धन बनेपछि अल्पमतमा परेका सोडारीले यही साउन १८ गते पदबाट राजीनामा दिएका थिए । सोही दिन मुख्यमन्त्री नियुक्तिका निम्ति प्रदेश प्रमुखद्वारा आह्वान भएअनुसार आइतबार दिउँसो शाहले दाबी पेस गरेका थिए । मुख्यमन्त्रीका निम्ति ५३ सदस्यीय प्रदेशसभामा २७ जना आवश्यक पर्नेमा कांग्रेस र एमालेका २९ सदस्य छन् । नागरिक उन्मुक्तिले समर्थन गर्दा मुख्यमन्त्रीको पक्षमा ३६ सदस्य पुग्छ । प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।