बंगलादेशकी प्रधानमन्त्री हसिनाले छोडिन देश

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी छन् ।

ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार शेख हसिना भारत प्रस्थान गरेकी छन् । शेख हसिनाकी बहिनी पनि उनको साथमा रहेको बताइएको छ । शेख हसिनाका छोराले देशको सुरक्षा बललाई सम्भावित विद्रोहको प्रयासलाई सफल हुन नदिन आग्रह गरेका छन् । यसैबीच राजधानी ढाकासहित देशभर सेना परिचालन गरिएको छ ।

कर्फ्यू लागू छ । बंगलादेश हिंसाको आगोमा जलिरहेको छ । मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतला प्रस्थान गरेकी छन् । उनी हेलिकप्टरमा भारत गएकी हुन् । उनी आफ्नी बहिनीलाई साथमा लिएर देश छोडेको बिबिसीले उल्लेख गरेको छ ।

हिजो भएको सरकार विरोधी प्रदर्शनमा एकै दिनमा ९० जनाको मृत्यु भएको छ । गत महिना निजामती सेवाको जागिरमा कोटा खारेज गर्नुपर्ने माग राखेर सुरु भएको विद्यार्थी आन्दोलन अहिले सरकार विरोधी आन्दोलनमा परिणत भएको छ ।

विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिनुपर्ने माग गर्दै सविनय अवज्ञाको अभियान घोषणा गरेपछि आन्दोलन चर्किएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *