गएरातिदेखिको लगातारका वर्षाका कारण उपत्यकाका तिनैवटा जिल्ला जलमग्न

काठमाडौँ । गएरातिदेखिको लगातारका वर्षाका कारण उपत्यकाका तिनैवटा जिल्ला जलमग्न बनेको छ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको हो । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित भएको छ । सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छ भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको कार्यालय परिसर जलमग्न भएको छ ।

रामशाहपथस्थित राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको कार्यालय भवनमा सेवाग्राही प्रवेश गर्न नमिल्नेगरी पानी जमेको छ । पानी जमेपछि कार्यालयले पानी तान्ने मोटर प्रयोग गरी निकास सहज बनाइएको छ । अविरल वर्षाले कामकाजी कर्मचारी र सर्वसाधारण बढी मर्कामा परेका छन । वर्षाले उपत्यकाको ‘ट्राफिक’ पनि अस्तव्यस्त बनेको थियो ।
कार्यालय समयमा सवारीसाधन एक घण्टासम्म लामो जाममा परेका थिए । लगातारको वर्षाले बिहान १० देखि ११ बजेसम्म काठमाडौँका अधिकांश सडकमा ट्राफिक जाम परेको थियो ।

विशेषगरी करिडोरका सडक, भद्रकाली, पुतलीसडक, पद्मोदय, माइतीघर मण्डला र कुपण्डोल क्षेत्रको सडकमा पानी जमेकाले सवारी आवागमनमा अवरोध भएको ट्राफिक प्रहरीले जनाएको छ । लगातारको झरीले काठमाडौँका विभिन्न स्थानका सडक जलमग्न भए पछि सर्वसाधरण र सवारीसाधनलाई आवतजावतमा कठिनाइ भएको थियो । विशेषगरी काठमाडौँको कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, पुतलीसडक, जमल थापाथली, माइतीघरमण्डला, बबरमहल, नयाँ वानेश्वर, तीनकुने कोटेश्वर तथा ललितपुरका बालकुमारी, ग्वार्को, सातदोबाटो, कुपण्डोल, पुल्चोकलगायत क्षेत्रमा अत्यधिक जाम भएको ट्राफिक प्रहरीले जनाएको छ ।

अहिले देशभर साधारणतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । उपत्यकाका जिल्ला ललितपुरको खोड्कु खोला र भक्तपुरको मनोहरा तथा हनुमन्ते खोलाको पानिको बहाव उच्च रहने भएकाले जल तथा मोषम विभागले सतकर्ता अपनाउन आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *