ठूला दलको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम हुने अपेक्षा : अध्यक्ष ढकाल
काठमाण्डौं । कैलाली उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदका ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम हुने भएकाले निजी क्षेत्र विस्तार हुने अपेक्षा गरेको बताएका छन् । उनले नीतिगत अस्थितरता आर्थिक विस्तारको सबैभन्दा ठूलो समस्या रहेको सन्दर्भमा अब सुधारको सम्भावना रहेको बताए । मुलुकको वाह्य क्षेत्र सुदृढ रहेको र शेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सृजना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने पनि बताए ।
संघ सरकारसँगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको भन्दै उनले प्रदेशमा पनि आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानीय सरकार दुबै मिलेर अगाडि बढ्नुपर्ने बताए । कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरु मध्ये छैठौं स्थानमा रहेको र सबैभन्दा बढि गरिबी रहेको सुदूरपश्चिममा आर्थिक सम्भावना भने उच्च रहेको अध्यक्ष ढकालले बताए । जलस्रोत पर्यटन मात्रै नभइ यहाँको जनशक्ति निक्कै मिहिनेती रहेको र युवाहरु विकासको सम्बाहक हुने उनको भनाइ थियो । जिल्लामा रहेका साना मझौला उद्यमलाई सहयोग पुग्ने गरि महासंघले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताए। कार्यक्रममा संघका जिल्ला अध्यक्ष पुष्प कुँवरले सुदूरपश्चिम प्रदेशका उत्पादनको बजारीकरण, वित्तीइ पहुँचलगायतका क्षेत्रमा सरकारको सहयोग आवश्यक रहेको बताए ।