बंगलादेशको घटनाबाट सचेत हुनुपर्छ: नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बंगलादेशको घटनाबाट सचेत हुनुपर्ने बताएका छन् । नेता कोइरालाले राजनीतिक दल, नेता, प्रणाली र संविधानमाथि नै जनता असन्तुष्ट रहेको भन्दै यस्तो बताएका हुन् ।
आज (बिहीबार) पार्टी केन्द्रीय कमिटी बैठकमा नेता कोइरालाले भने, ‘बंगलादेशको घटनाले हामी सवैलाई उद्धेलित गरेको हुनुपर्छ । नेपालमा बंगलादेशको जस्तो घटना दोहरिन नदिन राजनीतिमा मूल्यपद्धति र नैतिक पक्ष शसक्त हुनुपर्छ ।’ उनले बंगलादेशको घटनाबाट पाठ सिकाएको समेत बताए ।
उनले भने, ‘पछिल्लो समय नेता र राजनीतिप्रति जनताको बितृष्णा बढ्दो छ । राजनीतिक दल, नेता, प्रणाली र संविधानमाथि नै जनता असन्तुष्ट छन् भनी अहिले नेपालमा एउटा ‘वेभ’ सृजना गर्न खोजिँदै छ । यसलाई मध्यनजर गर्दै राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीतिमा देखिएको असंगती र अस्थिरतालाई देशको जिम्मेवार र ठुलो दल भएको नाताले गम्भिरतापूर्वक सोचौँ ।’ उनले पाँच दशक अगाडि नेपाली कांग्रेसका पथ प्रदर्शक जननायक विपी कोइराला दक्षिण एशियामा उत्पन्न राजनीतिक उतार चढावले नेपालको राष्ट्रियता कमजोर हुन्छ भनी प्रवासबाट स्वदेश फर्केको स्मरण गर्दै प्रजातन्त्र र राष्ट्रियता एक अर्काका पुरक हुन र यिनलाई भिन्न–भिन्न रुपमा हेर्नु हुन्न भन्ने वीपीको मान्यता रहेको बताए । जनताको अभिमतप्रति अविश्वासको खाडल निर्माण गरिँदै गएका कारण दक्षिण एशिया अन्तराष्ट्रिय राजनीतिको क्रिडास्थल भएर नेपाल जस्तो देश चेपुवामा पर्ने सम्भावना बढेको धारणा राखे ।
वर्तमान गठवन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भिरतापूर्वक उठाइएको बताउँदै उनले भने, ‘छिटो–छिटो सरकार गठन र बिघटन भैरहँदा विकासका गति अगाडी बढेनन् र जनताले सुशासनको अनुभुति गर्न पाएनन् भनेर मैले नै केही समय अगाडी देखी भन्दै आइरहेको हुँ । तसर्थ दुई ठुला दल मिलेर सरकार बनाऔँ र संविधान संशोधनमार्फत देशमा राजनीतिक स्थायित्व दिऔँ भन्ने आवाज उठाएको हुँ ।’
नेता कोइरालाले नेपालको संविधान आम नेपालीको साझा दस्तावेज भएको बताउँदै यसमा गरिने सुधारको प्रकृया अगाडी बढाँउदा संविधानको स्विकारोक्तिमा आम नेपाली भावना जोडिनु पर्ने बताए ।